काठमाडाैं । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २ सय २५ शय्याको आइसोलेसन वार्ड तयार पारेको छ ।
कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना संक्रमण भए उपचारका लागि राख्न आइसोलेसन वार्ड तयार पारेको हो ।
नेपाली सेनाको उपत्यका पृतनाअन्तर्गत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १ सय ५० र गणमा ७५ शय्या गरी कुल २ सय २५ शय्याको आइसोलेसन वार्ड तयार पारेको हो ।
गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रतिकोठा ६ देखि १० सम्म बेड रहेको १५० शय्याको आइसोलेसन वार्ड एकदिनमा तयार पारेको बताए ।
यहाँ भोलिदेखि नै संक्रमित सैनिकलाई राखेर उपचार सुरु गर्ने भएको छ भने सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ शय्या क्षमताको आइसोलेसन भने आजै संक्रमित सैनिकले भरिएको उनले जानकारी दिए ।
आइसोलेसनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतनाअन्तर्गतको वीरदल गणले गर्ने भएको छ । चिकित्सकीय सहितको स्वास्थ्यकर्मीको टोली, फोहोर व्यवस्थापन, खानपिनमा भने नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीले व्यवस्थापन गर्ने भएको छ । सैनिकका २ वटै आइसोलेसनमा चिकित्सकसहित ५-५ जनाको स्वास्थ्य टोली परिचालन भएको छ ।
कोरोना संक्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेसन अभाव हुदै गएपछि नेपाली सेनाले सैनिकका लागि छुट्टै तयार पारेको हो । प्रमुख सेनानी पौडेलले भने, 'उपत्यकामा आइसोलेसनको अभाव हुदै गएको छ, यो अवस्थामा संक्रमित सेना र आश्रित परिवारलाई छुट्टै व्यवस्था गर्न सके उनीहरुले ओगटेको आइसोलेसन सर्वसाधारणका लागि प्रयोग गर्न थप सहयोग हुन्छ भनेर यो तयार भएको हो ।'
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७