चितवन । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट साेमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव साेमबार दिउँसो भेटिएको हो। उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो। बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ।
घटनास्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उनले जानकारी दिए। घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्तीसहित घटनास्थलमा पुगेका थिए।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७