काठमाडौँ । अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा) ले स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।
सोमबार बसेको नाडाकाे पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
नाडाले सरकारसँग कोरोना सङ्क्रमणबाट बच्न सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको हो ।
‘जनता स्वयं आफ्नो दुःख पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना बढी भएको छ, यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी गरिएको निषेधाज्ञाबारे पुनर्विचार गर्न अनुरोध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न भएको छ ।’
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बेरोजगारीको समस्या सरकारले सम्बोधन गर्न नसकेको जनाउँदै निषेधाज्ञाको अवधि थपिँदै जाँदा अरु भयावह हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।
'बन्दाबन्दीको समयमा अटोमोबाइल व्यवसायीहरु ठूलो मारमा परेका छन्, आफ्नो उद्योग व्यवसायबाट नै वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ', विज्ञप्तिमा भनिएको छ, 'अब अति भयो, समयलाई बुझेर संसारलाई नियालौँ र अब काम गरौँ ।'
सरकारी कर्मचारीहरूले काम नगरे पनि तलब भत्ता आइरहने भएकाले कोरोना संक्रमणदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै उनले असन्तुष्टि व्यक्ति गरे । घरमै बसेर तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरूमा रहेको दुलालको भनाइ छ ।
उनले भने ‘सुरूदेखि नै हेर्यो भने सरकारी कर्मचारीहरूले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन, जति पनि सरकारी कर्मचारीहरूले के भनेका छन् भने बन्द गर्नुपर्छ कोरोना फैलिन्छ, घरमा बस्नुपर्छ भनेको छ। किनभने उहाँहरूले तलब बसीबसी पाउनुभएको छ। पैसा आउने जति पनि राजनीतिज्ञ छन्, जति पनि नेता छन्, जति पनि कर्मचारी छन् सबैले बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको नै आवाज सुन्छौं ।’
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७