मुम्बईमा असुरक्षित महसुस गरेको भन्दै विवादमा आएकी बलिउड अभिनेत्री कंगाना रनौतलाई 'वाई' श्रेणीको सुरक्षा प्रदान गरिएको छ।
महाराष्ट्र सरकारका मन्त्री र शिवसेनाका नेता कार्यकर्ताको धम्कीपछि बलिउड रनौतलाई भारतको केन्द्र सरकारले सुरक्षा प्रदान गरेको हाे । केन्द्रीय गृह मन्त्रालयले सुरक्षा खतरा आंकलन गर्दै सोमवार कंगनालाई ‘वाई’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको हो ।
मुम्बईलाई पाकिस्तान शासित कश्मीरसँग तुलना गरेपछि उनी विवादमा आएकी थिइन् । यो विवादित भनाइले गर्दा उनलाई धम्की आएपछि उनका बुवाले हिमाचल प्रदेश सरकारसँग सुरक्षा माग गरि निवेदन दिएका थिए । त्यसकै आधारमा उनलाई वाई श्रेणीको सुरक्षा प्रदान गरिएको भारतीय मिडियाले जनाएको छ ।
बुधबार मुम्बई फर्किन लागेकी कंगनाको सुरक्षामा केन्द्र सरकारले १ कमाण्डोसहित ११ सैनिक खटाएको हो । अब कंगना मुम्बई एयरपोर्टमा उत्रिनेबित्तिकै उनको साथमा सुरक्षाकर्मी खटिने छन् ।
वाई श्रेणीको सुरक्षा भिआइपीलाई दिइन्छ । ३ कमान्डाे र २ पिएसओ संलग्न हुने सुरक्षा टिममा कुल ११ जना सुरक्षाकर्मी खटिन्छन्।
केन्द्र सरकारबाट सुरक्षा पाएपछि कंगनाले ट्वीटरमार्फत गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छिन् ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७