काठमाडाैं । रातो मच्छिन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ।
सोमबार पाटन मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरूबीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराई बुंगमती लैजाने निर्णय भएको हो ।
ज्योतिष कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मच्छिन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुंगमती लैजाने निर्णय भएको बताए ।
यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मूर्तिलाई बुंगमती पुर्याएको ४ दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले बताए।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथ यात्रा यस वर्ष कोभिड- १९ महामारीका कारण रोकिएको थियो। लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरूले प्रशासनको अनुमतिबिना रथ तानेका थिए।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७