काठमाडौं । गत बिहीबार विवाद भएपछि रोकिएको मच्छिन्द्रनाथको रथ आइतबार तानिएको छ । कडा सुरक्षा घेराका बीच रथ तानिएको हो ।
रथ आइतबार पुल्चोकबाट तानेर त्यही अवस्थित स्तुपा नजिक सोह्रखुट्टे पाटीसम्म पुर्याइएको छ । मीननाथको रथ पनि गा:बहालबाट तानेर पुल्चोक ल्याइएको छ ।
यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आइतबार ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राखिएको हो । अब विशेष पूजाविधि पूरा गरेर भदौ २६ गते बुङमतीमा लगिने छ ।
पाटनमा रातो मत्स्येन्द्रनाथ जात्रा विषेश गरी चार तवरबाट मनाइन्छ । पहिलो गा:बा: या: भनी रथ पुल्चोकबाट पाटन गा:बहाल पुगेपछि, नुग: या: भनी सुन्धारा, लग: या भनी लगनखेल र जावला या: भनी जावलाखेल पुगेपछि जात्रा गरिन्छ । लगनखेलमा रथको टुप्पोबाट नरिवल खसालिन्छ भने जावलाखेलमा भोटो देखाउने चलन छ ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७