काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ ।
गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिक टन युरिया मल आयातका लागि शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिसँग सम्झौता भए पनि तोकिएको समयभित्र मल ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो ।
यी २ कम्पनीले २५–२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए । तर हालसम्म पनि उनीहरुले मल नल्याइदिँदा देशभर मलको हाहाकार भएको छ ।
अधिकारी नेकपा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । मन्त्री भुसालले तत्कालका लागि सम्झौता रद्द गरिएको र धरौटी जफत प्रक्रियाअघि बढाइएको बताए ।
फरक-फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने गरी कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सहमति अनुसार भदौ २० गतेसम्म ५० हजार मेट्रिक टन रासायनिक मल उनीहरुले ल्याउनुपर्ने थियो । तोकिएको समयसम्म पनि मल आयात नगरेपछि सरकारले कारबाही गरेको जनाएको हाे ।
सरकारले समयमै मल उपलब्ध गराउन नसकेपछि किसानले मल पाएका छैनन् । देशभर यो सिजनका लागि १ लाख ५० हजार मल आवश्यक पर्ने भएपनि अहिले कत्ति पनि मल सरकारसँग छैन ।
सरकारले मलको व्यवस्थापन गर्न नसकेपछि केही दिन अघि मात्रै बंगलादेशबाट पैचौंमा युरिया मल उपलब्ध गराइदिन प्रधानमन्त्री केपी शर्मा ओली बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोनमा आग्रह गरेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७