काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाकाे परीक्षण गर्दा १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको जनाए । थपिएकामध्ये ४ सय ६४ जना महिला र ८ सय ९५ जना पुरुष छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेकाे छ भने हाल सक्रिय संक्रमितकाे संख्या १८ हजार ४ सय ४ छ ।
यसैगरी शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेकाे छ ।
यस्तै शुक्रबार काठमाडौँ उपत्यकामा ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडाैँमा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएकाे मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा संक्रमणका कारण देशभरमा १४ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा काठमाडौँका ३ जना र १ जना चितवनकी छन् ।
त्यस्तै सप्तरीका २ जना, धनुषा, कास्की, नवलपरासी, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेतका १-१ जना पुरुषकाे मृत्यु भएकाे मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
यससँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ सय ७१ पुगेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७