बागलुङ । गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार बागलुङकाे ढोरपाटन पुगेर बाढी पहिरोपीडितलाई राहत वितरण गरेको छ ।
खराब मौसमका कारण बिहीबार बीच बाटोबाटै फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकोप्टरमार्फत ढोरपाटन पुगेका हुन् ।
तत्काल आवश्यक त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको हाे ।
बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवलोकनपछि गृहमन्त्री थापाले पीडितलाई तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था मिलाइने र वर्षा सकिएपछि एकीकृत बस्ती तयार गरिने बताएका छन् ।
नेपाली सेनाको हेलिकाेप्टरमा गएका गृहमन्त्री थापाको टोलीमा सांसद देवेन्द्र पौडेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलगायत छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७