काठमाडौं । काठमाडौंको सीतापाइलास्थित मनमोहन अस्पतालभित्र दाेहाेराे झडप हुँदा अस्पतालका कर्मचारी र केही बिरामीसमेत घाइते भएका छन् ।
बिहीबार राति ९ बजेतिर २ समूहबीच अस्पतालकाे आकस्मिक कक्षभित्रै झडप भएकाे हाे । प्रहरीका अनुसार ढुंगेधारा र रानीवनका युवा समूहबीच झडप भएको हो ।
उनीहरू बाहिरबाट झगडा गर्दै छिरेको र अस्पतालमा रहेका बिरामीहरूलाई समेत घाइते बनाएकाे अस्पताल प्रशासनले जनाएको छ ।
झगडा गर्नेमध्ये ४ जनाको टाउकोमा चोट लागेको छ । झडपमा ३० वर्षीय सुदीप रानामगर, २४ वर्षीय सुरज रानामगर, २७ वर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएका हुन् । घाइतेहरुको साेही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले झडपमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैबीच अस्पतालले झडपका क्रममा आकस्मिक कक्षमा क्षति पुगेकाे भन्दै आकस्मिक सेवा दिन नसक्ने जनाएकाे छ । नयाँ बिरामीलाई सेवा दिन नसकिए पनि अस्पतालमै रहेका बिरामीहरूकाे हकमा भने उपचार सेवा दिने अस्पतालले विज्ञप्तिमार्फत जनाएकाे छ ।
साथै घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न समेत प्रशासनलाई आग्रह गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७