बागलुङ । बुधबार राति आएकाे बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ जनामध्ये ४ जनाको शव सनाखत भएको छ । पहिरोमा परी अझै २४ जना बेपत्ता छन् ।
शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।
उनीहरूको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। पहिचान भएकाहरूको पोस्टमार्टमको काम आज हुने छ ।
घटनामा बेपत्ताको शुक्रबार बिहानैदेखि खोजी सुरू भएको रेग्मीले बताए । रातको समयमा पहिरो खसेकाले धेरैले ज्यान बचाउन नसकेका हुन् । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो।
बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।
पहिरोले फलेघर र सुपुर्दुङका दर्जन बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन्। अधिकांश घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ।
ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७