ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो ।
कोरोनाको भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पुल्चाेकमा तनाव भएको थियो ।
स्थानीय प्रशासनको अनुमतिबिना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो । निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए ।
कर्फ्यु उल्लंघन गर्नेलाई कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भट्टले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 'याे आदेशकाे उल्लंघन गरी घरबाहिर निस्के वा अन्य काम गरे सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने छ', विज्ञप्तिमा लेखिएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७