काठमाडाैं । यतिबेला सिंगाे विश्व नै काेराेना भाइरसकाे संक्रमणसँग जुधिरहेकाे छ । के धनी, के गरिब, सबै तह र तप्काका मानिस यतिबेला यस भाइरसबाट आक्रान्त छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले हरेक दिनकाे मिडिया ब्रिफिङमार्फत सर्वसाधारणलाई मास्ककाे प्रयाेग अनिवार्य गर्न अनुराेध गरिरहेका हुन्छन् । काेराेना भाइरसकाे संक्रमणबाट बच्ने एक भरपर्दाे माध्यम यसै मास्कलाई लिइएकाे छ ।
स्वास्थ्यकर्मी जस्ताे फ्रन्टलाइनमा रहेर काम गर्नुपर्नेलाई त झन् काेराेना भाइरसकाे संक्रमणकाे जाेखिम बढी हुने जनस्वास्थ्य विज्ञहरूले बताइरहेका छन् ।
तर संघीय सरकारकाे सामान्य प्रशासन मन्त्रालय मातहतकै एउटा सरकारी अस्पतालले भने अस्पतालमा कार्यरत कर्मचारीहरूका लागि मास्क प्रयाेगकाे सीमा ताेकिदिएकाे छ ।
निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल वानेश्वर) काे प्रशासन शाखाले परिपत्र नै जारी गरेर मास्ककाे सीमा ताेकेकाे हाे । गत भदाै १४ गते अस्पतालकाे जनरल स्टाेरलाई १ पत्र लेख्दै अस्पतालमा कार्यरत कर्मचारीहरूका लागि प्रयाेग हुने मास्ककाे हास्यास्पद काेटा ताेकिदिएकाे हाे ।
सेन्सेटिभ युनिट मानिने आइसियु, शल्यक्रिया कक्ष, आइसाेलेसन कक्षमा काम गर्नेहरूका लागि त एन९५ मास्कसमेत दिइएकाे छैन । त्यस्ता संवेदनशील विभागमा कार्यरत कर्मचारीहरूका लागि सर्जिकल मास्क उपलब्ध गराउने भनिएकाे छ, त्याे पनि विभागीय प्रमुखकाे सिफारिसमा मात्रै ।
प्रशासन शाखाले लेखेकाे पत्रमा भनिएकाे छ, 'विभाग/शाखा/युनिटका इन्चार्जमार्फत प्रत्येक कर्मचारीलाई ३ वटा एन९५ मास्क उपलब्ध गराउने र कर्मचारीले पालैपालाे उक्त मास्क २ महिना लगाउने । स्वाब संकलन गर्ने कर्मचारीलाई हरेक महिना ४ वटा मास्क उपलब्ध गराउने । साे अवधिमा थप मास्क उपलब्ध नहुने ।'
त्यसैगरी अगाडि भनिएकाे छ, 'आइसियु/ओटी/डेन्टल ओपिडी/ आइसाेलेसन लगायत विभागमा सम्बन्धित विभागीय प्रमुखकाे सिफारिसमा सर्जिकल मास्क उपलब्ध गराउने ।'
यस्ताे संवेदनशील युनिटमा काम गर्नेहरुका लागि एन९५ मास्क अनिवार्य हुन्छ । तर यहाँ सर्जिकल मास्क दिन भनिएकाे छ, त्याे पनि सिफारिसमा मात्र । 'हामीले मास्क लिएर अन्त लगेर बेच्ने हाेइन, यस्ताे महामारीकाे अवस्थामा एउटा मास्कका लागि पनि साेर्स लगाउनुपर्ने अवस्था छ', अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।
स्वास्थ्य प्रवक्ताले केही दिन पहिले सर्वसाधारण जनतालाई गाली गरे– आफूले २ सय रुपैयाँकाे मास्क नलगाउने अनि सरकारलाई दाेष दिने ? १ जना संक्रमित पत्ता लगाउन सरकारले १ लाख ४ हजार रुपैयाँ खर्च गरिरहेकाे भनेर उनले मास्क प्रयाेग अनिवार्य गर्न अनुराेध गरे ।
तर सरकारकै मातहतमा रहेकाे अस्पतालमा कार्यरत कर्मचारी/स्वास्थ्यकर्मीका लागि ५ रुपैयाँकाे मास्कका पनि विभागीय प्रमुखकाे सिफारिस आवश्यक पर्ने भएकाे छ । जब कि स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीले १ पटक प्रयाेग गरेर खाेलिसकेकाे मास्क पुनः प्रयाेग गर्न मिल्दैन । त्यस्ताे अवस्थामा अस्पतालले ३ वटा मास्कले २ महिना पुर्याउन भनेकाे छ । अझ स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई महिनामा जम्मा ४ वटा मास्क दिइएकाे छ ।
अस्पतालकाे यस्ताे रबैयाप्रति कार्यरत कर्मचारी त्रासमा काम गर्न बाध्य छन् । यस्ताे महामारीकाे अवस्थामा स्वास्थ्यकर्मीकाे मनाेबल बढाउनुपर्नेमा स्वयं सरकारले नै मनाेबल गिराइरहेकाे त्यहाँका कर्मचारीहरू बताउँछन् ।
हेर्नुस् अस्पतालकाे पत्रः
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७