चितवन । भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ ।
कलेजले आवश्यक कीट उपलब्ध गराएमा १० हजार नमुना निःशुल्क परीक्षण गर्ने जनाएको थियो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भरतपुर प्रयोगशालामा चाप बढ्दै गएर नतिजा आउन ढिलाइ भएपछि मेडिकल कलेज पठाएको जानकारी दिए ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले आवश्यक रिएजेन्ट उपलब्ध गराएमा आफूहरूले १० हजार नमुना परीक्षणमा अन्य शुल्क नलिने बताए । अहिले अस्पतालले रिएजेन्ट उपलब्ध नगराई पत्र पठाएर परीक्षण गर्न अनुरोध गरेपछि काम थालेको जनाइएको छ ।
मेडिकल कलेजको प्रयोगशाला स्वचालित रहेको छ भने भरतपुर कोभिड- १९ प्रयोगशाला म्यानुअयल हो । भरतपुर कोभिड प्रयोगशालाले ६ घण्टामा ९६ वटा नमुना परीक्षण गर्न सक्छ भने मेडिकल कलेजको प्रयोगशालाले त्यति नै समयमा ४ सय वटा नमुना परीक्षण गर्न सक्छ ।
भरतपुर कोभिड- १९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले यसअघि प्रयोगशालामा चाप हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्यसमार्फत सरकारी प्रयोगशालामा स्वाब पठाइएकोमा अहिले मेडिकल कलेजमा पठाइएको जानकारी दिइन् । पछिल्लो समय जिल्लामा संक्रमणको दर बढेसँगै कन्ट्रयाक्ट ट्रेसिङका परीक्षण गर्नुपर्ने बढेको छ ।
भरतपुर कोभिड- १९ प्रयोशालाले कोरोना परीक्षणको नतिजा मोबाइलबाटै पठाउने भएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीका अनुसार प्रयोगशालामा सफ्टवेयर जडान गरी परीक्षणको काम भइसकेकाले सम्भवतः आजदेखि मोबाइलमा नै नतिजा पठाइने छ ।
'सम्भवत आजदेखि हामी कोरोना परीक्षणको नमुना दिएर नतिजा पर्खिरहेकालाई म्यासेजमा नतिजा पठाउँने छौँ,' उनले भने । नमुना दिएकाले म्यासेज खोल्दा नेगेटिभ र पोजिटिभ देखिने छ भने पासवर्ड राखेर डाउनलोड गरेपछि विस्तृत विवरण हेर्न र प्रिन्ट गर्न सकिने जनाइएको छ । हाल अस्पतालले नेगेटिभ आएकको नाम फेसबुकमार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजिटिभ रिपोर्ट आएकालाई टेलिफोन गरी जानकारी दिने गरेको छ ।
प्रयोगशाला प्रमुख डा. अधिकारीले नमुना दिने सम्बन्धित व्यक्तिले नमुना दिँदा आफ्नो यथार्थ विवरण, नाम, ठेगना, उमेर र मोबाइल नम्बर दिन अनुरोध गरिन् । नम्बर प्रष्ट नभएमा नतिजा अन्यत्र जाने भएकाले सबैलाई ध्यान दिन उनले आग्रह गरिन् । यस प्रयोगशाला गत ११ चैत्रबाट संञ्चालनमा आएको हो ।
प्रयोगशालामा स्वचालित प्रणालीबाट सञ्चालन गर्न सकिने उपकरण जडानको तयारी भइरहेको छ । प्रयोगशालामा हालसम्म २१ हजारभन्दा बढी नमुना परीक्षण गरी सकिएको छ । तीमध्ये १६ हजार चितवनको मात्र रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७