काठमाडाैं । चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनेको सत्याग्रह पुनः स्थगित गरेका छन् ।
चिकित्सा क्षेत्र सुधारका लागि आजबाट सत्याग्रह बस्ने भनेका डा. केसीले कोरोना भाइरस महामारीका कारणले अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निःशुल्क विषेशज्ञ सेवा प्रदान गर्दै आएका डा. केसी हाल जुम्लामा छन् । जुम्लामा कोरोना संक्रमितको संख्या बढेका कारणले स्थानीयको आग्रहमा केही समयका लागि सत्याग्रह स्थगित गरेको डा. केसीले बताए ।
‘विद्यमान स्वास्थ्य प्रणाली कति नाजुक छ भनेर अहिलेको कोरोना महामारी प्रष्ट पारेको छ’ उनले भने, ‘अझैँ पनि चिकित्सा क्षेत्रको सुधार हुन जरुरी छ ।’
चिकित्सा क्षेत्र सुधारका लागि आफू जीवन रहुन्जेल लाग्ने र त्यसका लागि निरन्तर आन्दोलनमा रहेको डा. केसीले स्पष्ट पारेका छन् । ‘हामीले राखेका जायज मागविरुद्ध सरकार लागि परेको छ’ उनले भने, ‘चिकित्सा क्षेत्र सुधारविना देशको विकास पनि असम्भव छ ।’
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७