काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
जारी निषेधाज्ञाकाे बेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
एसएसपी राईका अनुसार स्थानीयलाई बिहानैदेखि रथयात्रा नगर्न सम्झाइएको थियो । सम्झाउँदा पनि नमानेपछि पानीको फोहरा प्रयोग गरिएको हो । राईले भने, 'प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाइयो ।'
लकडाउन र निषेधाज्ञाले जात्रा पटकपटक स्थगित भएकाले स्थानीय आक्रोसित बनेका छन् । जात्रामा ठूलो जमात सहभागी हुने र कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै सरकारले रोक लगाएको छ ।
प्रहरी र स्थानीयबीच बीच झडप भएपछि भीड तितरवितर पार्न अश्रु ग्यास हानिएको थियाे । प्रहरीले रथ तान्न तम्सेका युवाहरुलाई रोकेपछि झडप भएको हो । रथ तानेर सडकको बीच भाग पुर्याइएको छ ।
चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो । त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले सुरु हुन सकेको छैन ।
मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लानुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ ।
रातो मछिन्द्रनाथका ज्योतिष कृतिमदन जोशीले स्थानीयले बारम्बार गरेको अनुरोधलाई प्रशासनले बेवास्ता गरेका कारण पुल्चोकमा तनाव सिर्जना भएको बताए ।
जिल्ला प्रशासन कार्यालयले रथ तान्न नदिने जनाएको छ। गुठी संस्थानले रथ तान्ने विषयमा निर्णय गर्न बैठक बोलाएको छ ।
स्थानीयबासीले भने सरकारले महामारीको नाममा जात्रा रोकेर परम्परामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनीहरुले सामाजिक दूरी कायम गरेर रथ तान्न दिनुपर्ने माग गरेका छन् ।






प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७