बागलुङ । बागलुङकाे ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने कम्तीमा १३ जना बेपत्ता भएका छन् ।
गएराति करिब १२ बजे भुजीखोलामा आएको बाढीले ढोरपाटनकाे वडा नम्बर ५, ६, ७, ८ र ९ का करिब ३० घर बगाएको स्थानीयले बताएका छन् ।
सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् । यद्यपि प्रहरी घटनास्थल गएर उद्धार सुरु गरेकाले यकिन विवरण आउन बाँकी छ ।
स्थानीयका अनुसार बाढीले सडक छेउमा राखिएको जीप, २वटा विद्युत गृह, १ झोलुंगे पुल, २ वटा विद्यालय भवनसमेत बगाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
बाढीका कारण १ दर्जन मानिस बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनले बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७