कवि राजबाबु श्रेष्ठ 'सागर' समसामयिक नेपाली कविताको क्षेत्रमा अहिले अब्बल कविको रूपमा स्थापित भएको देखिन्छ । उनका 'हराएका छोराहरू' कविता सङ्ग्रह र 'देशको चिना' मुक्तक सङ्ग्रह २०७७ साउन २३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा लोकार्पण सम्पन्न भएको थियो । उनकाे 'हराएका छोराहरू' कविता सङ्ग्रह दोस्रो कृति हो भने 'देशको चिना' मुक्तक सङ्ग्रह तेस्रो कृति हाे ।
उनको पहिलो कृति 'बन्द फ्रेमभित्रको चिठ्ठी' उपन्यास २०५७ सालमा साउदी अरबको अल्हस्साबाट प्रकाशित भएको थियो । यस सङ्ग्रहभित्र ५५ कविताहरू समावेश गरिएका छन् । यस सङ्ग्रहभित्र संकलित कविताका माध्यमबाट सागरले मातृभूमि, राष्ट्र र राष्ट्रियताप्रति अगाध श्रद्धाभाव, रोष र राज्यप्रति असन्तुष्टि व्यक्त गर्नुका साथै जन्मदेखि मृत्युसम्मको जीवनदर्शन र सन्देश पोखेका छन् ।
उनका केही कविताहरू सरल छन् भने केही मध्यम खालका र केही कविता लक्षणात्मक पनि छन्, जसलाई साधारण पाठकले बुझ्न गाह्रो अनुभूति हुन्छ भन्ने मलाई लाग्छ । केही कविताहरू मध्यम खालका र केही छोटाछोटा पनि छन् । कविले जस्तो भोगे, जस्तो देखे, जस्तो अनुभूति गरे- त्यही अनुभूतिहरूका तीता र मीठा उपजहरू हुन् यस सङ्ग्रहभित्र संकलित कविताहरू ।
उनले कलात्मक पक्षभन्दा बढी विचार, उद्देश्य, जीवन दर्शन, भोक, रोग, गरिबी, अभाव के हो ? रथ हाँक्ने सारथी नै गलत भएको र नारा र स्लोगनका भ्रमका आश्वासनहरू सिधासादा निमुखा जनताका आँखामा छारो हाली स्वार्थको भोकले देशलाई नै तबाह बनाउनेजस्ता विकृति र विसंगतिको बारेमा निकै कडा असन्तुष्टि पोख्दै आफ्ना कविताहरूद्वारा शून्यवादभन्दा माथि उठी यथार्थवादको खोल ओढी निकै राम्रा सन्देश पक्षलाई जोड दिएका छन् ।
उनका कविताहरूमा प्रयोग भएका फरक किसिमका बिम्ब, प्रतीक र प्रतीकात्मक चोटिलो प्रहारले नै अहिलेका समसामयिक गत २० वर्षदेखि लिएर हुन आउने २० वर्षसम्मको सम्भावनाभित्र पसेर सिङ्गो देशलाई नै असन्तुष्टिकाे प्रतिनिधित्व गरेको देखिन्छ ।
कवि सागरका 'हराएका छोराहरू'भित्र संगृहित् पहिलो कविता 'हराएका छोराहरू' नै सबैभन्दा बलशाली र सशक्त असन्तुष्टिका काव्यिक मालाहरूमा एकदमै सरल र चलाखीपूर्ण शब्दहरू उनेर ऐनाजस्तै प्रस्ट्याएका छन् ।
जस्तै – जेठो छोरो जहिल्यै देश काँधमा बोक्छु भन्थ्यो
देश निकै भारी हुँदो रहेछ क्यारे सकेन बोक्न
र बिसायो देश उआफै ढलेपछि
कान्छो छोरो पनि देश बदल्छु भन्थ्यो
देश बदल्ने कलिला सपनाहरू थुन्सेमा बोकी
छिर्यो जङ्गल जनयुद्धको लागि
ऊ पनि ढल्यो, त्यहीँ गल्यो
ककसले कता फाले
ऊ जनयोद्धाबाट सहिदमा बदलियो
शान्ति घोषणापछि बदलिए सारा नाराहरू
बदलिए सारा नारा लाउने सर्वहाराहरू
तर बदलिएनन् उसले बदल्न खोजेको देश
अरुण र बरुण समाधिमा निदाएजस्तै
साँच्चै भनूँ,
मेरो देश अहिले निदाइरहेछ कोमामा । पृष्ठ संख्या – २०
सङ्ग्रहभित्र रहेका उनका हराएका छोराहरू, देश आफैँ बन्दछ, जिउँदो शुक्रवीर, भन न सरकार तिमी कस्ता जात हौ, सहिदको एक सर्वनाम, खाऊ वनभोज रमाएर, चातक जिन्दगीको कहानी, ठोक सलामी ए मलामीहरू हो, तिमीले आफैँले आफैँलाई खायौ, भोकाएको कुर्सी, म एउटा भोको पेट, मृत्यु आफैँ उम्रिन्छ, लासहरू, एक स्वाभिमानी नेपाली र जाग ए अक्षरहरू हो जस्ता चर्चित शीर्षकका सशक्त कविताहरूले देशको राजनेताहरूबाट भएका समसामयिक विकृति र विसङ्गतिलाई घोर निन्दा गर्दै मजाले पाहा पछारेजस्तै पछारेका छन् ।
यी कविताहरूभित्र डुबुल्की मारेर हेर्दा साँच्चै भनूँ, कविताहरूले समग्रमा एउटा युगको नेताहरू राज्यप्रति बेपर्बाह भएका बारेमा जनताका असन्तुष्टिका सशक्त आवाजहरू आफ्ना कविताद्वारा उतारेका छन् । उनका कविता सबै सकारात्मक चिन्तनका छन् ।
कवि सागरका, मेरा भोकहरू भोकभोकै निदाउँछन्, जिन्दगी एक धुवाँ, किन हरेक मृत्युले उही जीवन जन्माउँदैन, घाम निद्राबाट ब्युँझिदा, दम्भ परालको आगोजस्तै हो, पहिला पानीए हुन सिक, फेरि मलाई दिगम्बर हुनु छैन, बिग्रिएका जिन्दगीका एक बेहिसाब, जिन्दगीका परिभाषाहरू, म उसलाई औधी माया गर्छु, भोकहरू देहावसान पिएर तृप्त छन्, तिमीलाई नै बन्धकी राखेर, अघाउनु छ तिमीलाई कवितामा पिएर, भोकभन्दा ठुलो आशीर्वाद होइन रहेछ र साँच्चै भनूँ यी पनि कविताजस्ता छन् जस्ता चर्चित शीर्षकका कविताहरूले जन्मदेखि मुत्युसम्मका जीवन, मृत्यु, भोक, प्यास, गरिबी, दुःख, कष्ट, मायाप्रेम र ईश्वरप्रतिको आस्था र जीवनदर्शनका एक सत्य र तथ्यका परिभाषाहरू परिभाषित गर्नुका साथै यी कविताहरू बोधगम्य रहेका छन् भने बाँकी कविताहरू वक्रोक्ति रहेका छन् ।
कवि सागरले लेखेका कवितामा विषयवस्तुको विविधता पाइनुका साथै उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीकमा पनि एक छुट्टै शिल्पशैली भेटिन्छन् । सरल भाषामा बिम्ब र प्रतीकहरूको प्रयोग गरी लेखिनु यस सङ्ग्रहमा पाइने कविताका विशेषताहरू हुन् ।
कवि सागरका कविताहरू भावनात्मक मात्रै छैनन् जीवन र जगतको वास्तविक छवि चित्राङ्कनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन् । कविताहरूले सागरको हृदय भावुक छ भन्ने व्यक्त गर्दछ । समग्रमा भन्नुपर्दा कवि सागरका कविता सङ्ग्रह 'हराएका छोराहरू' प्रत्येक पाठकहरूका लागि एकदमै पठनीय छ र प्रत्येक पाठहरूले पढ्न जरूरी छ भन्ने धारणा व्यक्त गर्दछु ।
अगामी दिनमा उनका थुप्रै कृतिहरू प्रकाशित भइरहून् भन्ने शुभकामना व्यक्त गर्दै उनका प्रकाशोन्मुख २ कृतिका लागि पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
कृति - हराएका छोराहरू
लेखक – राजबाबु श्रेष्ठ 'सागर'
प्रकाशक – बिएन पुस्तक संसार
मूल्य – रु. १५०
पृष्ठ – १०४
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७