काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ ।
धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकालेका छन्। पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ १७ गते बुधबार सुरु हुँदै छ।
बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १:१७ बजेदेखि ३:४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए। यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ।
तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ। यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
भदौ १८ गते बिहीबार द्धितीया तिथि श्राद्ध दिउँसो १ः१७ देखि ३ः४८ सम्म दिइएको छ। भदौ १९ गते तृतीया तिथि श्राद्धको समय पनि १:१७ देखि ३:४८ सम्म छ। यस वर्ष भदौ २० गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ। चतुर्थी तिथि श्राद्धको समय भदौ २१ गते आइतबार दिउँसो १:१६ देखि ३:४६ सम्म गर्नुपर्नेछ।
पञ्चमी तिथि श्राद्ध भदौ २२ गते सोमबार पनि दिउँसो १:१६ देखि ३:४६ सम्ममा गर्नुपर्नेछ। षष्ठी तिथि श्राद्ध भदौ २३ गते मङ्गलबार १:१५ देखि ३:४५ सम्ममा गर्नुपर्नेछ। सप्तमी तिथि श्राद्ध भदौ २४ गते बुधबार १:१५ देखि ३:४४ सम्ममा गर्नुपर्नेछ। अष्टमी तिथि श्राद्ध भदौ २५ गते बिहीबार दिउँसो १:१४ देखि ३:४३ सम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ।
नवमी तिथि श्राद्ध भदौ २६ गते शुक्रबार दिउँसो १:१३ देखि ३:४२ सम्ममा गर्नुपर्नेछ। दशमी तिथि श्राद्ध भदौ २७ गते शनिबार १:१३ देखि ३:४१ सम्ममा गर्नुपर्नेछ। एकादशी श्राद्ध भदौ २८ गते आइतबार १:१२ देखि ३:४० सम्ममा गर्नुपर्ने जनाइएको छ। द्वादशी तिथि श्राद्ध भदौ २९ गते सोमबार पनि १:१२ देखि ३:४० सम्ममा गर्नुपर्नेछ। त्रयोदशी तिथि श्राद्ध भदौ ३० गते मङ्गलबार १:११ देखि ३:३८ सम्ममा गर्नुपर्नेछ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७