काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण धरान र वीरगन्जमा १-१ जनाकाे मृत्यु भएकाे छ ।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको मिर्चैया घर भएका ६५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
प्रवक्ता सापकोटाका अनुसार उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो। गत भदौ १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट धरान रिफर गरिएका उनी उच्च रक्तचाप र मधुमेहका समेत रोगी थिए ।
स्वासप्रस्वास समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।
यसैगरी नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत १ पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष छन् ।
वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२:४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।
मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनको साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७