काठमाडौं । सरकारले एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने नीतिगत निर्णय गरेको छ ।
यसअघि बैंकहरुले एक बैंकको कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क लिने गरेका थिए । केहीले भने आन्तरिक समझदारीमा शुल्क नलिने पनि गरेका थिए ।
तर कोरोनाको समयमा गरिएको लकडाउनमा भने बैंकहरुले सहुलियत दिएका थिए । लकडाउन सकिने बित्तिकै फेरि बैंकहरुले पुरानै नियम लागु गरेका थिए ।
तर अब भने सरकारले नै नीतिगत रुपमै जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको हो ।
राष्ट्र बैंकले विद्युतीय भुक्तानी कार्ड सञ्चालनबारे नीति नै बनाएर अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी (ङ) बुँदामा ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन’ भनिएको हो ।
कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्ने र कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्ने पनि व्यवस्था गरिएको हो ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७