भारतमा एकैदिन हालसम्मकै उच्च कोरोना संक्रमित भेटिएका छन् । वर्ल्डाेमिटरका अनुसार शनिबार ७८ हजार ४७२ संक्रमित थपिएका हुन्।
यससँगै भारतमा ३४ लाख ६३ हजार ९७२ मा संक्रमण पुष्टि भइसकेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २६ लाख ४८ हजार ९९८ निको भएका छन् भने ६२ हजार ५५० को मृत्यु भएको छ।
कोरोनाबाट सबभन्दा बढी आक्रान्त बनेको महाराष्ट्र प्रदेशमा शनिबार १४ हजार ४२७ नयाँ संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै ३३१ जनाको ज्यान गएको छ। यससँगै महाराष्ट्रमा संक्रमित हुनेको संख्या ७ लाख ४७ हजार ९९५ पुगेको छ भने मृतक संख्या २३ हजार ७७५ पुगेको छ।
दोस्रो बढी संक्रमित संख्या भएको तामिलनाडुमा ४ लाख ९ हजार २३८ जनामा संक्रमण पुष्टि भइसकेको छ। शनिबार मात्र ५ हजार ९९६ थपिएका छन्। त्यस्तै १०२ जनाको थप मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ७ हजार ५० पुगेको छ।
यसैगरी बिहारमा पनि संक्रमण तीव्र बनेको छ। बिहारमा शनिबार २ हजार २७७ संक्रमित भेटिएका छन्। यससँगै बिहारमा संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ५७ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै ज्यान गुमाउनेको संख्या ५५८ पुगेको छ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७