कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।
शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमुना संकलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ।
२ साता अवधिमै उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि टोली संक्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो ।
जापानिज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमुना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए।
'महामारीको संकेत छैन', उनले भने, 'रगतको नमुना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।'
उच्च ज्वरो आएका ३ बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र २ जनाको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा गगन चौधरीका अनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप बढेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७