चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।
गोरखा नगरपालिका-१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् ।
आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए।
आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए। डा. सापकोटाले कोरोना संक्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको जानकारी दिए।
भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए। भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक हाे।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७