पूर्वीय दर्शनमा राजनीतिक आधार दिइएका छन् । हिन्दू धर्म संस्कृति र सनातनी परम्पराका प्राचीन ग्रन्थहरुलाई पवित्र मानिन्छ । महाभारत, रामायण, पुराणका गाथा, मनुस्मृति, विविध नीति तथा स्मृति ग्रन्थहरु, चाणक्य आदि विद्वानका अर्थनीतिहरु मुख्य रुपमा प्रचलित छन् । पश्चिमा जगतमा चाहिँ प्राचीन दार्शनिकहरु ह्युमर, सुकरात, प्लेटो, अरिस्टोटल आदिका सुप्रसिद्ध ग्रन्थहरुले राजनीतिलाई निर्देश गरेका हुन् । आधुनिक विश्वका राजनीतिज्ञ नेपोलियन, अब्राह्म लिंकन, कार्ल माक्र्स, लेलिन, महात्मा गान्धी, सुभाषचन्द्र बोस, सन्यात्सेन, माओत्सेतुंग, देंगपियाओ सिंग, हिटलर, मुसोलिनी, स्टालिन आदि देखिए । यिनै शासकका महत्वाकांक्षी, उदारवाद, समाजवाद, जनवाद तथा निरंकूशतावादका राजनीतिक धारमा विश्वमा नेतृत्व शैलीहरु विकास भए । यी सबै राजनीतिक पक्षका सुगुण तथा दुर्गुणहरुबाट विश्वजगत लाभान्वित र विध्वंशमा पनि परे ।
नेपाल सन्दर्भ :
विश्वका राजनीतिक क्षेत्रका उपलब्धि र अपराधहरुका विविध पक्षमा धेरैथोरै केही न केही ज्ञान नेपाली नागरिकमा पनि विकसित भएको पाइन्छ । यसरी विविध घुम्तीको फड्को मार्दै विश्व राजनीति चलिरहेछ । विश्व राजनीतिमा नयाँ नयाँ मोड विकसित तथा परिचालित हुँदै आएका छन् । पछिल्लो अभ्यासमा प्रजातान्त्रिक प्रतिस्पर्धामा अति अनुदारवादी, राजनैतिक पृष्ठभूमिमा कुनै उल्लेखनीय योगदान नपुराएका, कठोर छविका नेताहरुको राजनीतिमा उदय हुँदो छ । यसरी निरंकुश शैलीका नेताहरुको विश्व राजनीतिमा पकड बलियो हुँदै गएको हो वा अभ्यासमा त्यसको परीक्षण भइरहेको हो ।
प्रायः शक्तिशाली देशमा जतासुकै एउटै व्यक्तिले धेरै अवधि शासन गर्ने वा आजीवन शासनको नेतृत्व गर्ने संवैधानिक पद्धति वा प्रक्रियालाई भित्राइएको बहस सुनिन्छ । यसले संसारको राजनैतिक धारलाई बदलिरहेको र एक आपसमा फरक फरक समीकरणको दवाव सिर्जना गरिरहेको पाइन्छ । गणतान्त्रिक अभ्यासमा भर्खर पसेको नेपालमा पनि कुनै पार्टी वा नेतामा यो महत्वाकांक्षा जागे पनि सम्भव देखिँदैन । विश्व राजनीतिका कुनै यी पक्षले प्रभाव वा उत्प्रेरित गर्न खोजेपनि सहजै वातावरण बन्न सक्ने स्थिति नेपालमा देखिँदैन । यद्यपि देख्नमा आवधिक निर्वाचनको पूर्ण प्रजातान्त्रिक शासन तर व्यवहारमा पार्टी नेतृत्वका पनि सत्ताधारी र राज्य सरकारका केही प्रतिनिधिहरुको मात्र राजनीति हावी भयो । पार्टी र सरकार दुवै क्षेत्रमा निरंकूशताको अभ्यास बढ्यो र सहभागितामूलक शासनको अभाव भन्ने नेपालको सन्दर्भमा पनि निरन्तर गुनासो सुनिन्छ ।
राजनीतिको पर्याय षडयन्त्र :
विश्वजगत नै राजनीतिक षडयन्त्रमा अभ्यस्त देखिन्छन् । आधुनिक नेपालको जग स्थापना गर्दादेखि नै राजनीतिमा आपसी षडयन्त्र उच्च देखिन्छ । राज्य, सत्ता प्राप्तिमा क्रान्ति र प्रतिक्रान्ति दुवै पर्याय हुने गरेका छन् । राजनीतिक संघर्षमा राजामहाराजादेखि गणतन्त्रकालीन नेताहरुसम्मको दौड अपारदर्शी पाइन्छ । तत्कालीन राजदरवारभित्रका भारदारी र सैनिक शक्तिका बीचको शितयुद्ध हत्या हिँसामा प्रकट हुन्थ्यो । अहिले राजनीतिक पार्टीका गुट, उपगुट र स्वार्थ समूह झुण्ड बीचमा कसलाई उठाउने र कसलाई सिद्धाउने गोप्य षडयन्त्रमा विस्तारित हुँदै खुट्टा तान्ने संस्कृति जारी र मौलाउँदै गएको देखिन्छ ।
प्रायः शक्तिशाली देशमा जतासुकै एउटै व्यक्तिले धेरै अवधि शासन गर्ने वा आजीवन शासनको नेतृत्व गर्ने संवैधानिक पद्धति वा प्रक्रियालाई भित्राइएको बहस सुनिन्छ । यसले संसारको राजनैतिक धारलाई बदलिरहेको र एक आपसमा फरक फरक समीकरणको दवाव सिर्जना गरिरहेको पाइन्छ ।
विकृतिको नाम राजनीति :
राज्य सत्ता र शक्ति प्राप्तिमा सबै किसिमका छलकपट र अपराध क्षम्य ठानिने संस्कृति राजनीतिमा विकास हुँदो छ । विकृति तथा विसंगतिले आन्तरिक मनमुटाव, हानथाप र अन्तरसंघर्ष तथा मौकापरस्त निर्णय वा बाध्यतालाई राजनीतिको नाम दिने गरिएको छ । गणतन्त्रकालीन नेताहरुको राजनीतिक भूमिका सत्ताबाहिर हुँदा र राज्यको आधिकारिक पदाधिकारी हुँदा फरक हुनुलाई राजनीति भनिएको छ । बिडम्बना, सरकारमा हुने राजनीतिक पार्टीका सदस्यहरु पनि सत्ता पक्ष र पार्टीपक्षमा विभाजित देखिनुलाई गुटको प्रभाव भनिन्छ ।
यसरी नै प्रतिपक्षी राजनीतिमा हुने पार्टीहरु पनि संस्थापन पक्ष र इतर पक्षमा विभाजित हुने विकृति मौलाएको छ । जुनसुकै सत्ता, शक्तिमा पुग्ने र त्यसका लागि सधैँ कुकुर बिरालाझैँ लुछाचुँडीमा आफूलाई केन्द्रित गर्नुलाई असल र सफल राजनीतिको अर्थमा बुझ्नु पर्ने भएको छ । सबै इमानदार नेता, कार्यकर्ताहरुलाई सिद्धान्त र निष्ठाको पाठ पढाएर जीवनभर दास बनाउन सक्नुलाई नेतृत्वको सफलता ठान्ने मानसिकता झाँगिएको छ । जेल नेल र त्यागी आदर्श अगुवा भनिएका सिद्धान्तकार शिर्षस्थ नेताहरुले आफूलाई चाहिँ आजीवन सर्वोच्च नेता बनाउने कुसंस्कृति भित्रिएको छ ।
आजीवन सत्तामोह र ह्रासोन्मुख राजनीति, खतरामा गणतन्त्र :
नयाँ पुस्तालाई पार्टी र सार्वजनिक क्षेत्रको नेतृत्व दिन शिर्षस्थ नेतृत्वमा आनाकानी पाइन्छ । आफूहरु सल्लाहाकार तथा अभिभावकमा सिमित हुनुपर्ने शिर्षस्थ नेताहरु आजीवन सत्तामोहमा लुब्ध छन् । चार पाँच दशकदेखि सार्वजनिक नेतृत्वका शिर्षस्थ नेताहरुले आफू नमरुन्जेल पद नछाड्ने हठ जारी राखेका छन् । नयाँ पुस्तालाई अवसर दिएर तयार नपार्ने तथा विविध हतकण्डा अपनाएर पुरानै असक्षम नेताहरुले पद हत्याउने षडयन्त्रको राजनीति उच्च गतिमा चलिरहेछ । दुखको कुरा पचास, साठी वर्ष पुगेका वा कटेका निरन्तर संघर्षबाट खारिएका पार्टीका नेताहरुमा मुलुक हाँक्ने आत्मविश्वास भरिएको छैन ।
पार्टीभित्रको कुन गुट, उपगुटको सेवा वा समूहमा आवद्ध भएमा शिर्षस्थ नेताहरुबाट केही जिम्मेवारी पाइएला ? भनी तुच्छ स्वार्थी राजनीतिक षडयन्त्रमा आफूलाई समर्पित गर्नु परेको विकृत मानसिकता खचाखच देखिन्छ । अझ पचास वर्ष मुनिका ३० वर्षमाथिका पार्टीका पछाडि लागेका विचरा नेता, कार्यकर्ता मुलुकको राजनीतिलाई नजिकबाट नियाली रहेकाहरुको हविगत के होला ? यस्तो बिडम्बनाको कुराजनीतिमा पार्टीहरुमा नवयुवाहरु कसरी आकर्षित होलान् र पार्टी राजनीतिले असल नेतृत्व पाउलान् ? आशंका जन्मिन्छ । भोलिको गणतान्त्रिक नेपालको शासन पद्धतिलाई कसरी प्रजातान्त्रिक र सुशासित गर्ने ठूलो चुनौती देखिन्छ ? यसर्थ नेपालको शासन पद्धति, पार्टी राजनीति र नेताहरुका विषयमा सबै राजनीतिक पार्टीहरु, तिनका समर्थक, आवद्ध सदस्यहरु तथा आम नेपाली जनताले खुलेर बहस गर्ने तथा सही निकास निकाल्नुपर्ने बेला भएको छ र ढिला गर्नु प्रजातान्त्रिक व्यवस्थाका लागि खतरा हुनेछ ।
पार्टी राजनीतिमा नवपुस्ताको भूमिका शून्य :
पार्टीका शिर्षस्थ नेताहरुबाट आफ्ना पार्टीका इमानदार नेता, कार्यकर्ता तथा संगठित समर्थकहरुलाई सार्वजनिक जिम्मेवारी दिन कन्जुस्याइ गर्ने गरेका छन् । विचौलियाहरुलाई काखी च्यापेर सांसद, मन्त्री, लाभका पदमा किनबेच तथा लेनदेन र पार्टी सत्ता कमाउमा व्यस्त हुने आरोप प्रमाणित छन् । यही लाभका कारण शिर्षस्थ नेताहरुमा सत्ता मोह उच्च छ तथा सार्वजनिक पदमा अपारदर्शी रुपमा अवसरको वितरण गर्ने वा आफ्नो घरको, नातापाताको वा गुटको मान्छेलाई नियुक्ति दिने पद्धति विकास भएको छ ।
पार्टीभित्रको कुन गुट, उपगुटको सेवा वा समूहमा आवद्ध भएमा शिर्षस्थ नेताहरुबाट केही जिम्मेवारी पाइएला ? भनी तुच्छ स्वार्थी राजनीतिक षडयन्त्रमा आफूलाई समर्पित गर्नु परेको विकृत मानसिकता खचाखच देखिन्छ ।
सत्तामा होस् वा प्रतिपक्ष नेकपा, नेका, सजपाका वा अन्य सबै पार्टीका शिर्षस्थ नेताहरु कम्तिमा तीन चार, पाँच दशकदेखि मुलुकको नेतृत्वमा छन् । पार्टी नेता तथा कार्यकर्ताहरु दास संस्कृतिमा फसेका, फसाइएका छन् । पार्टीका कार्यकर्ताहरु भविष्यमा कुनै लाभको पद वा अवसर प्राप्त हुने आशामा नेतृत्वको पक्षपात तथा अपराधलाई विद्रोह गरेर बाहिर ल्याउन सकिरहेका छैनन् । आफ्नो जीवन सधैँ नेतृत्वको अन्याय सहेर बस्न वा स्वार्थी झुण्डमा गोलबद्ध हुन अभ्यास गरिरहेछन् । कतिपय पार्टीका नेता कार्यकर्ताहरु आफैँ बिचौलियाका सेवाप्रदायक संयन्त्र खडा गरेर गैर, अपारदर्शी आर्थिक लाभको राजनीतिलाई पेसा बनाएर धन कमाउने सिँढी निर्माण गरेका छन् । यस्तो विकृत अवस्थामा पार्टी शुद्धिकरण तथा भविष्य निर्माणमा दोस्रो, तेस्रो तहका युवापुस्ताहरुको भूमिका शुन्य हुनु वा निकासका लागि सक्रियता वा नेतृत्वदायी पहल नहुनु शुभसंकेत मान्न सकिँदैन र पार्टीगत राजनीति नै धरापमा पर्न सक्छ ।
पार्टी सम्बद्धता, दास जमातको उत्पादन :
राजनीतिक पार्टीको विधान बमोजिम महाधिवेशनको निर्णय सर्वोपरि हुन्छ । पार्टी विचारको सम्मान गर्न नसक्ने, विधान बमोजिमको सर्तमा पार्टीको नेतृत्व नगर्ने, बिधान बमोजिमको कार्यकालमा पदाधिकारी तथा विभागहरु चयन नगर्ने, तोकिएको कार्यकाल समाप्त भएपछि बाध्यात्मक रुपमा महाधिवेशनका लागि थपिएको काम चलाउँ कार्यसमितिले विभागीय संगठनमा पदाधिकारी नियुक्ति गर्ने कार्य कसरी प्रजातान्त्रिक हुन सक्छ ? एकातिर प्रतिपक्षी नेकाका सभापति र तिनको नेतृत्वलाई कसरी प्रजातान्त्रिक मान्ने ?
अर्कोतिर दुई फरक फरक धार तथा सिद्धान्तका पार्टीको एकताका नाममा दुई अध्यक्ष बनाउने र ती दुवै अध्यक्षलाई पार्टीको सर्वाधिकारको अधिकार दिने ? कस्तो राजनीतिक प्रजातन्त्र ? प्रश्न गर्न पाइन्छ वा पाइँदैन । पार्टीका नाममा यी दुई गुट वा उपगुटका महारथि दुई अध्यक्षहरुको नेतृत्व असफल भयो रे ? के नेकपा नामको राजनीतिक पार्टी आर्यघाटमा सेलाइने हो ? नेकपामा अरु कुनै नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको कुनै भूमिका छैन ? नेकपाका सबै स्थायी समिति र केन्द्रीय कमिटीका पदाधिकारीहरु विगतमा कुनै राजनीतिक योगदान नभएका प्राणीहरु हुन् ? यी सबै राजनैतिक शून्य चेतनाका, नेकपाका दुई अध्यक्ष र शिर्षस्थ नेताहरुले निगाहामा स्थायी सदस्य र केन्द्रीय कमिटीका पद दिएका बधुँवा दासहरु मात्र हुन् ? ती शिर्षस्थ नेताहरुका निगाहामा स्थायी समिति र केन्द्रीय पदमा आसिन भएका असक्षम सेवकका जमात हुन् ?
अत : शिर्षस्थ नेताहरुको लाभ र हानिका अर्थमा बिचौलियाहरुले फगत उभ्याइएका शरीरधारी बुँख्याचा मात्र नेकपा र नेका तथा अन्य पार्टीका दोस्रो, तेस्रो तहका नेता र कार्यकताहरु हुनु हुँदैन । यो समूह मुलुकलाई राजनीति तथा प्रशासनिक सुशासनका लागि अग्रसर हुनुपर्दछ । अन्यथा राजनीतिक पार्टीतर्फ नव पुस्ताका युवायुवतीहरुको कुनै आकर्षण हुने छैन र देश असल, सक्षम नेतृत्वका दृष्टिले भड्खालोमा पर्ने जोखिम बढ्ने छ ।
राजनीतिको दुरुपयोग कमाउ संस्कृति :
जङ्गली वा निरंकूश कालको राजनीति वीर भोग्या बसुन्धरा हो । तर यो नीतिमा प्रजातन्त्र र गणतन्त्रको शासन पद्धति फस्टाउँदैन र एक पाइला पनि अगाडि बढ्न सक्दैन । वास्तविक राजनीति र सामाजिक न्याय सडकमा हुँदो रहेछ । सत्ताधारी हुनासाथ शक्ति मोह बढ्ने तथा अनुयायीमा चाकरी वा षडयन्त्र पो मौलाउँदो रहेछ । नेतृत्वप्रति अविश्वास, आपसी बेमेल तथा विमति राख्ने वा विपक्षीको हत्या निरन्तरता मानव इतिहासको कलंक हो । तर यो कुराजनीति वा षडयन्त्रको विराम प्रजातन्त्र वा गणतन्त्रमा पनि लागेको छैन । उल्टो उच्च नेतृत्व पंक्तिमा विवाद उब्जाउने, बढाउने तथा फाइदा लिने बिचौलियाहरुको बिगबिगी राजनीतिमा सर्वव्यापी छ ।
नेकपा, नेका, सजपा जस्ता पार्टीमा दार्शनिक मतान्तर वा रणनीतिक अन्तरको संघर्ष भए पो आपसी छलफलबाट साम्य पार्नु, वैयक्तिक स्वार्थका मतियारहरुले नै हातमा राजनीतिक शक्ति अठ्ठाएका छन् । स्वतन्त्र नागरिक तथा समर्थकहरुको विवेक लुटिएको छ । कुकृत्य संस्कारले राजनीति र प्रशासन दुवै आक्रान्त तथा थिलो थिलो पारिएको छ । राजनीतिको दुरुपयोग कमाउ संस्कृतिले सहभागिता र पारदर्शितालाई बेवास्ता गर्दा गणतन्त्रको धेरै आलोचना हुने गरेको छ ।
सत्ता राजनीति भ्रष्टताको लक्ष :
आवधिक निर्वाचनको अर्थ पार्टीहरुलाई जनताको निगरानीमा राख्नु तथा जनमतबाट निर्णय दिनु हो । राज्यका शासनाधिकारीले सत्तासीनमा निरन्तरता पाएमा पार्टी तथा नेतृत्व परिवर्तनसम्म गरिदिन्छन् । नयाँ सत्ता वा दोहोरिएको भएपनि नेता र प्रवृत्ति चाहिँ कुनै उत्साहजनक नभई उस्तै निराशा लाग्दो देखिन्छ । बिडम्बना, राजकीय शक्तिको प्रयोगमा पुग्नाले सत्ता सुख तथा सेवासुविधाले नेतृत्वमा धेरै उन्माद चढ्दो रहेछ । जनताका माझमा रहेर सुशासन र पारदर्शिताको कसम खाएका राजनीतिक पार्टीका नेताहरु लाजै नमान्ने गरी भ्रष्टीकृत हुँदा रहेछन् । नेतृत्वले आफूलाई नै राज्य, सार्वभौम शक्ति र देवत्वकरण मान्ने प्रवृत्ति मौलाउँदो रहेछ । एकातिर, राज्यमा सुशासन खोज्नेहरु पार्टीभित्रै शत्रु वर्गका हुने तथा उनीहरुमाथि षडयन्त्रका शिकार खेलिने खतरा हुँदो रहेछ ।
विगत २०४७ यताको राजनीतिक घटनावली र प्रशासनिक अवस्थालाई विश्लेषण गर्दा मुलुक बनाउने योजना, दूरदर्शीता, विवेकशीलता कुनै पनि नेतृत्वमा छैन भन्न थालिएको छ । अर्कोतिर, पार्टी विधानको पालना र निर्णयमा चल्नु सर्वोच्च नेतृत्वका लागि पदीय निरीहता र पार्टीका प्रतिपक्ष समक्ष आत्म समर्पण गरेको ठानिने अहम् भाव पलाएको अनुभूत हुन्छ । जनताको हित, देशको समृद्धि तथा पार्टीको विधिविधान र अनुशासनमा नचल्ने स्वेच्छाचारी राजनीति मुलुकलाई किन चाहियो ? तापनि पार्टीहरुमा सत्तापक्ष र पार्टीपक्ष, संस्थापन पक्ष र संस्था इतरपक्षको अपारदर्शी घृणित खेलमा सामूहिक समर्थन वा विरोधको अविवेकी राजनीतिको शिकारले मुलुक आक्रान्त बनाइएको छ । विवाद निकासका लागि हरेक पटक बिचौलियाहरुको साथ चाहिन्छ, जनता, समर्थक र पार्टीका कार्यकर्ताहरुको कुनै स्थान र भूमिका हुने गरेको छैन । किनभने सत्ता राजनीतिको एक मात्र लक्ष नै भ्रष्टाचार गरी छिटो धनी हुने र उनीहरुको संरक्षण कसरी गर्ने भन्ने चिन्ताले शासकीय नीति निर्धारण हुने गरेको अनुभूति हुन्छ ।
विगत २०४७ यताको राजनीतिक घटनावली र प्रशासनिक अवस्थालाई विश्लेषण गर्दा मुलुक बनाउने योजना, दूरदर्शीता, विवेकशीलता कुनै पनि नेतृत्वमा छैन भन्न थालिएको छ । अर्कोतिर, पार्टी विधानको पालना र निर्णयमा चल्नु सर्वोच्च नेतृत्वका लागि पदीय निरीहता र पार्टीका प्रतिपक्ष समक्ष आत्म समर्पण गरेको ठानिने अहम् भाव पलाएको अनुभूत हुन्छ ।
देशमुखी तथा स्वाभीमानी राजनीति ः
कुनै पनि सार्वभौमिक मुलुकको छिमेकी वा विदेशी राष्टहरुबाट अस्तित्व सुरक्षा मुख्य कुरा हुन्छ । देशको भूगोल मात्र राज्य होइन, आर्थिक तथा भौतिक सम्पन्नता सहितको नागरिक स्वाभीमान राष्टियता हुन्छ । यसर्थ आधारभूत सेवासुविधाको उपलब्धता विना जनताको आत्मबल र देशभक्ति कुनै पनि अर्थमा बलियो हुन सक्दैन । जनताका लागि रोजगारी तथा अर्थतन्त्र आत्मनिर्भर नभएको देशको सरकार बलियो हुँदैन र धेरै कमजोर हुन्छ भनिन्छ । सुशासनको अभावमा सरकारी नेतृत्व तथा प्रशासकहरु इमानदार हुँदैनन् र जनताहरुले कुनै न्याय पाउन सक्दैनन् । राज्य तहबाट हुने विभेदले जनतालाई बहाना बनाएर सहयोगको लोभमा विदेशीहरुले पस्ने मौका पाउँछन् ।छिमेकी राजनीतिमा चासो राख्ने विस्तारवादी तथा साम्राज्यवादीहरुले एनजिओ, आइएनजिओको नाममा समुदायमा पस्ने सजिलै अवसर पाउँछन् । देशको भाषा, संस्कृति, शिक्षा पद्धति, सबै सामाजिक सेवा आदिमाथि अतिक्रमण तथा आक्रमण गर्दछन् । गैर जिम्मेवार बिचौलियाको माध्यमबाट नीतिगत भ्रष्टाचार र अनेकाँै सेवासुविधामा उच्च नेतृत्व तथा सार्वजनिक पदाधिकारीको हस्ताक्षर र लोगो बिकी सकेको हुनाले सरकार अति निरीह हुन जान्छ । जनता अशिक्षा र चेतनाको अभावले एकीकृत रुपमा अत्याचारको प्रतिकार गर्नुको सट्टा सरकारले पठाएकाले हाम्रो हित भएको होला ? भन्ने भ्रममा हुन्छन् सही विश्लेषण गर्न सक्ने हैसियतमा हुँदैनन् र देश लुटिएको थाहा पाउँदैनन् ।
एक छाक खान दिएर, खेतबारी कब्जा गर्ने साहूहरुझै विदेशी सहयोगको दुरुपयोग :
सहयोगका नाममा ऋण, अनुदान सहयोग र कुनै आपतविपतको लागि सामान्य राहतका पोका लिएर भित्रिनेहरुको वैदेशिक चलखेल मुलुकमा बढी नै बढ्दो देखिन्छ । विकास निर्माण होस् वा भौतिक पूर्वाधारका संरचना व्यवस्थापन स्वदेशको लगानीलाई प्रबर्धन गर्न नसक्दा एमसिसि, बिआर आइ जस्ता परियोजना आवश्यक हुन्छन् र विवादमा तानिन्छन् ? नेपालमा विदेशी रकम भित्राउन सक्नु मात्र पनि ठूलो राजनीतिक उपलब्धि र विकासको आधार मानिने दरिद्र मानसिकता विकास भएको छ ।
वैदेशिक स्रोत मात्र देशको एकमात्र कायापलटको एकमात्र रामवाण औषधी हुने भए, वि.स. २००८ सालदेखि आजसम्म अनुदान सहयोग, ऋण र प्राविधिक वस्तु समेत खरबौँ खरब विदेशी लगानी नेपालमा आएको पाइन्छ । तर खोई कहाँ गयो, त्यो रकम ? कहाँ कहाँ के के विकास भयो ? खोज्ने बेला भएको छ । यसर्थ विदेशी सहयोग नीति तयार पार्दाँ, सर्वप्रथम नेपालीले आफैँ, आफ्नै नेतृत्वमा खर्च गर्ने क्षमता विकास पहिलो सर्त हुनु पर्दछ । कुल बजेटमा ६० ÷ ७० प्रतिशत रकम विदेशी महँगा सल्लाहाकार, प्राविधिक परामर्श सेवासुविधा आदिका नाममा तलबभत्ताका रुपमा विदेशिने क्रममा विराम दिनु दोस्रो सर्त पालना आवश्यक छ । अन्यथा विपन्नलाई एक छाक मिठो खुबाएर भएका खेतवारी कब्जा गर्ने सामन्तहरुलाई भगवान मानेझैँ विदेशी सहयोगको गुणगान गाउने दलाल बिचौलियाको बाहेक कसैको उन्नति हुने देखिँदैन । देश कंगालको कंगाल हुनेछ ।
आत्मनिर्भर अर्थतन्त्र तथा देशको समृद्धि :
नेपाली युवायुवतीहरुलाई सस्तो मूल्यमा खाडी वा जोखिमका काममा विदेशमा निर्यात गर्ने होइन । विदेशबाट भित्रिएको रेमिट्यान्सबाट सरकार, पदाधिकारी पालिने काम गलत भयो । कुनै वैज्ञानिक योजनावद्ध विकासका मार्ग खोलिएनन् र हचुवाका भरमा लुट मच्चाइयो । राजनीतिक अस्थीरतामा सार्वजनिक प्रशासन जति उत्तरदायी हुनु पर्दथ्यो, त्यो हुनै सकेन । विदेशी रकम जुनसुकै सर्तमा ल्याउने अपारदर्शी होडवाजीले प्रश्रय पायो । आफूसंग पैसा भए नेता बनिने र लाभका पद हत्याएर सावाँव्याज उठाउन सकिने तथा नीति निर्माणमा स्वार्थ बझाउन पाउने भएपछि कमाउधन्दामा राजनीति फस्यो । छिटो धनी बनिने लोभले सत्तामा पुग्ने नेता र सार्वजनिक प्रशासनका नीति निर्माताहरुले जे जस्ता काम पनि गर्न थाले । उनीहरुको जीवन समुन्नत हुँदै गयो तर देश बन्दै बनेन र अधोगतिमा धकेलियो । तसर्थ सबै पार्टीका पदाधिकारी, स्थायी कमिटी, केन्द्रिय कमिटी, समितिका सदस्यहरुले सामूहिक प्रतिवद्धता गर्न आवश्यक छ ।
हामी आफू अनैतिक हुँदैनौँ र देश तथा जनतामाथिको जुनसुकै अनैतिक कामलाई रोक्न कसम खान्छौ र व्यवहारमा उतार्छौँ । राजनीतिक तथा प्रशासनिक सार्वजनिक पदमा हुने तथा जिम्मेवार बहाल तथा निवृत्त पदाधिकारीहरुको चल अचल सम्पत्तिको छानविन गर्न, गराउन जनतासमक्ष घोषणा गर्दछौँ । यो बाटोमा राजनीतिक नवपुस्ता हिडेमा मात्र नवस्थापित गणतान्त्रिक पद्धतिलाई दुर्घटनामा जानबाट बचाउन सकिएला । स्वदेशभित्र स्वरोजगारी, रोजगारीका मार्गहरु खोली वैदेशिक आयातमा नियन्त्रण गरी युवायुवतीहरुलाई विदेशिनुबाट रोक्न पहल गर्न आवश्यक छ ।
राजनैतिक भूमिकामा नयाँ पुस्ताको नेतृत्व :
राजनीतिक तहबाट विशेष अध्ययन, नवीन योजनाबद्ध कार्यक्रमको पहल र सार्वजनिक क्षेत्रबाट इमानदारिता साथ राज्यका काम गर्न सक्ने वातावरणले मात्र सुशासन दिन सकिन्छ । अन्यथा लुटतन्त्रको गणतन्त्र, परिवारवाद, वा आफन्तवाद वा लेनदेन सौदाबाजीको प्रजातन्त्र तथा पार्टीका नाममा गुट, उपगुट, स्वार्थ र अवसर किनबेचको नेतातन्त्र पद्धतिको छाडातन्त्र मौलाएको विकृत राजनीति सम्बद्ध सबै नेता, कार्यकताहरुमा धिक्कार छ । यसर्थ गणतन्त्रलाई वास्तविक रुपमा संस्थागत गर्न सबै राजनीतिक पार्टीका पुराना पुस्ताका नेताहरुले इमानदारितासाथ सक्रिय राजनीतिबाट विश्राम लिनु पर्दछ । यदि सम्मानितसाथ पुराना नेताहरु विस्थापित हुन तयार नभएमा नवपुस्ताका नेताहरुले असक्षम नेताहरुलाई बोकेर, गुट उपगुटको गोटी बन्ने होइन एकतावद्ध भएर जीवनभर अवसर पाउँदा पनि केही सकारात्मक नतिजा दिन नसकेका नेताहरुलाई नेतृत्वबाट हटाउनु आजको आवश्यकता देखिन्छ ।
यसरी राजनीतिक पार्टी तथा सरकारी क्षेत्रमा दूरद्रष्टा र योजनाबद्ध काम गर्ने सिर्जनशील प्रतिभाशाली नेतृत्वको आवश्यकता खडकिएको छ । कुनै पार्टी सिद्धान्त भिरेर राजनीतिलाई व्यवसाय बनाएका नेताका समर्थक गुट उपगुटका पार्टी सदस्यहरुको मुलुकलाई खाँचो छैन । स्पष्ट सिद्धान्त, विधि , प्रक्रियाका पारदर्शी मूल्यमान्यतामा चल्ने पार्टी र नेताहरु देशलाई चाहिएको छ ।
राजनीतिक तहबाट विशेष अध्ययन, नवीन योजनाबद्ध कार्यक्रमको पहल र सार्वजनिक क्षेत्रबाट इमानदारिता साथ राज्यका काम गर्न सक्ने वातावरणले मात्र सुशासन दिन सकिन्छ । अन्यथा लुटतन्त्रको गणतन्त्र, परिवारवाद, वा आफन्तवाद वा लेनदेन सौदाबाजीको प्रजातन्त्र तथा पार्टीका नाममा गुट, उपगुट, स्वार्थ र अवसर किनबेचको नेतातन्त्र पद्धतिको छाडातन्त्र मौलाएको विकृत राजनीति सम्बद्ध सबै नेता, कार्यकताहरुमा धिक्कार छ ।
निचोड :
अन्तमा मुलुकलाई सुरक्षित राख्न र आपसी विश्वासलाई बलियो बनाउन राजनीतिक पद्धतिलाई षडयन्त्र मूलक नहुने वैज्ञानिकता दिन नेतृत्व तयार हुनु पर्दछ । विगतदेखि आजसम्म कुराजनीति वा षडयन्त्रको खेलले मुलुकलाई कहाँ पुरायो ? सबै स्पष्ट रुपमा मनन गरी नेतृत्व आत्मसमीक्षा गर्न लाग्नु सबैको हितमा हुन्छ । इमानदारितासाथ पार्टी वा सरकारको सत्ता वा प्रतिपक्षमा रहेर राज्यका सेवासुविधा र सर्वोच्च पदमा पुगेका सबै शिर्षस्थ नेताहरुले सक्रिय राजनीतिबाट सन्यास लिनु नै उचित हुन्छ ।
भविष्यमा पनि पार्टी एकता, सामूहिक निर्णय आदिका नाममा तिनै असफल तथा असक्षम शिर्षस्थ नेताहरुलाई सहमतिका नाममा जिम्मेवार पदमा आसिन गराउने कार्यले मुलुकको भविष्य उज्ज्वल हुने छैन । शिर्षस्थ नेतृत्वबाट आफू नै जसरी पनि बहाल हुनुपर्ने वा निरन्तरता दिनपर्ने वा विना सर्त आफू समक्ष आत्मसर्पण गर्ने, गराउने निरन्तरको कुराजनीति वा षडयन्त्रले कुनै पनि राजनीतिक पार्टीको भविष्य सुनिश्चित देखिँदैन । यसर्थ यी विविध विकृति, विसंगति तथा जनताका असन्तुष्टिलाई चिरेर चरम दासतापूर्वकको राजनीतिक अपमानलाई मस्तिष्कबाट निकालेर गणतन्त्रवादी राजनीतिक पार्टीका पक्षधर दोस्रो, तेस्रो तहका केन्द्रिय नेताहरु सार्वजनिक रुपमा बाहिर आउनु पर्दछ र मुलुकलाई सही गन्तव्य दिन तयार हुनु पर्दछ, अन्यथा विकृत गणतन्त्रलाई धिक्कार गर्नुको विकल्प छैन ।
(पोखरेल, नेपाल सरकारका उपसचिव हुन्) ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७