सल्यान। बागचौर नगरपालिका-१२, बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन्।
ओखरेनी गाउँ पहिराेको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन्।
ओखरेनी गाउँमा तीन घर पहिराेले बगाएको र गाउँभरिमा सयाैं स्थानमा पहिरो गएकाले स्थानीयवासी घर छाडेर विद्यालयमा बसेका छन्। यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ।
अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घर भासिएको तथा घर वरिपरि पहिरो गएर पुरिने अवस्था भएकाले गाउँले विद्यालयमा बसेको स्थानीयवासी वीरसिंह डाँगीले जानकारी दिए। “यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियाैं, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुपर्यो”, उनले भने।
पहिराेले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरूको गुनासो छ।
वाफुखोलाको ओखरेनीमा पहिराेले ठूलो क्षति भएकाले तथ्यांक संकलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका-१२ का वडाध्यक्ष दीपककुमार वलीले बताए। “अहिले वडा कार्यालयमार्फत् मुचुल्का तयार गर्ने काम भइरहेको छ र राहतका लागि पहल गरिनेछ”, उनले भने।
बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराेको उच्च जोखिममा छन्।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७