चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजबाट नमुना सङ्कलनको काम सुरु गरिएको छ ।
निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम सुरु भएको जानकारी दिए । हात्तीको कान वा पुच्छरको नसाबाट रगतको नमुना सङ्कलन गर्न थालिएको छ ।
हात्ती प्रजनन् केन्द्र खोरसोरमा २० र सौराहामा ८ हात्ती छन् । ती हात्तीको नमुना सङ्कलन गर्न ४ देखि ५ दिन लाग्ने उनले बताए । यसपछि पोस्टमा रहेका हात्तीहरूको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइनेछ । काठमाडौंको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमुना पठाइनेछ ।
अहिले क्षयरोगको मात्र परीक्षण गरिने उनले जानकारी दिए । सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएको छ । यस अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ ।
जिल्लाका हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो । उक्त संक्रमण सन् २०१६ सम्म जारी नै रह्यो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका २ हात्तीमा क्षयरोग देखिएको थियो । त्यसपछिका केही वर्ष संक्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण ४ वटा हात्ती मरेको अनुमान छ ।
चिकित्सक श्रेष्ठका अनुसार पछिल्लो पटक गत १९ साउनमा मरेको हात्तीमा क्षयरोगको संक्रमण थियो । त्यसअघि मरेका ३ वटा हात्तीको पोस्टमार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले ती हात्तीमा पनि क्षयरोगको संक्रमण भएको अनुमान गरिएको उनको भनाइ छ ।
यस क्षेत्रमा निजी होटलका पनि ५७ वटा हात्ती छन् । समयमा नै उपचार गर्न सके हात्ती बचाउन सकिने जनाउँदै उनले उपचारको कामलाई तीव्रता दिन लागिएको बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल सुरु गर्न लागिएको जानकारी दिए ।
क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उनको भनाइ छ ।
निकुञ्जका हात्ती विभिन्न पोस्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलहरूले प्रयोग गर्दै आएका छन् ।
निकुञ्ज हात्ती सफारीका लागि अन्तर्राष्ट्रिय रूपमा प्रख्यात छ । सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् ।
हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने र खर्चिलो हुने चिकित्सकहरू बताउँछन् ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७