कपिलवस्तु । कपिलवस्तुमा भदौ १५ गतेसम्म निषेधाज्ञा थप गरिएकाे छ ।
साउन २६ बाट जारी निषेधाज्ञा आज राति १२ बजे सकिन लागेपछि जिल्ला प्रशासन कार्यालयमा आइतबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउन भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेकाे हाे ।
बैठकले भदौ १५ गतेसम्म अत्यावश्यकीय वस्तुबाहेक अरु सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
उक्त समयमा बैंक तथा वित्तिय संस्था बिहान ८ बजे देखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर संचालन गर्न सकिने प्रशासनले बताएको छ ।
यसैगरी रुपन्देही प्रशासनले पनि थप १ साता निषेधाज्ञा जारी राख्ने निर्णय गरेकाे छ । गत साउन २९ गतेदेखि निषेधाज्ञा १ साता बढाइएको हाे ।
बुटवलमा आइतबार सम्पन्न जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिसिएमसी)को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधि बढाउने निर्णय गरिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका सबै पालिकामा आइतबारदेखि १४ गतेसम्मलाई लकडाउन थप गरिएको बताए ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७