काठमाडौँ । कलाकार दीपाश्री निरौलाले पछिल्लाे समय १ टेलिभिजन अन्तर्वार्तामा दिएको महानायकसम्बन्धी अभिव्यक्तिप्रति माफी मागेकी छिन् ।
दीपाश्रीले आफ्नाे जन्मदिन पारेर आफूले गल्ती गरेको बताउँदै माफी मागेकी हुन् । उनले आफ्ना फ्यानहरुसँग गल्ती स्वीकार गर्दै अब यस्ता गल्ती नगर्ने प्रणसमेत गरेकी छिन् ।
उनले आफूले काममा सफलता पाए पनि व्यक्तित्व विकासमा अझै कमजोरी रहेछ भन्ने यो घटनाले फिल गराएको उल्लेख गरेकी छिन् ।
'मिडियामा कसरी फेस हुने, शिष्ट सरल हुने, चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने भन्नेमा मेरो कमजोरी रहेछ । मैले अहिले फिल गरेँ,' उनले भिडियाेमा भनेकी छिन् ।
दीपाश्रीले अन्तर्वार्तामा जाँदा आफूले ३ वटा गल्ती गरेको बताएकी छिन् । घरमा विवाहको माहोल चलिरहँदा बनातयारी अन्तर्वार्तामा जानु, अन्तर्वार्तामा घोचिला पेचिला प्रश्नका कारण आफ्नो आवेगलाई कन्ट्रोल गर्न नसक्दा बडी ल्याङ्वेजमा समस्या आउनु र आफू एक कलाकार भएर अग्रज कलाकारप्रति टिप्पणी गर्नु आफ्ना प्रमुख गल्ती भएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘यी कुराले मलाई ठूलो शिक्षा दियो । ठूलो आँधीबेहरी आउँदा रुखका कुहिएका फलहरु झरे झैँ यो घटनाले ममा भएका कमी कमजोरी झार्यो ।’
शुभचिन्तक तथा आफन्तहरुको माया, साथ र हौसलाले आफू उठ्न सफल भएको बताउँदै उनले भनेकी छन्, ‘आज मेरो जन्मदिनमा केही प्रण गर्न चाहन्छु । अब कहिल्यै यस्ता गल्तीहरु दोहोर्याउँदिनँ । आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिन्छु । अझ राम्रो फिल्म बनाउने कोसिस गर्ने छु ।’
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७