काठमाडौँ । बिहीबार देशैभर सामान्य माैसम बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेकाले मौसम बदली भएको हो ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै आज राति देशभरिकै मौसम सामान्य बदली भई वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ ठाउँमा ठूलो पानी परे पनि अरु प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने उनको अनुमान छ ।
महाशाखाले नारायणी, कर्णाली र महाकालीका सहायक नदीमा बहाब बढ्दो भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुनलगायत दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भन्दै तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७