काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको स्थिति बढ्दै गएपछि ३ वटै जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्वसावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजे सम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावस्यक सेवा बाहेकका सबै सेवा सहित मानिसको आवागमन समेत बन्द गर्नेगरी निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन । अत्यावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइने छैन ।
अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षानिकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न नदिने र जिल्ला भित्र पनि सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नपाउने गरी आदेश जारी गरिएको दाहालले बताए ।
त्यस्तै, कोभिड १९ को रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्न दिने भएको छ ।
अत्यावश्यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसाेलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका लागि पूर्वअनुमति आवश्यक पर्ने छैन ।
यस्तै अत्यावश्यक उपाभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखेरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय भएको समेत दाहालले बताए ।
आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेमाथि पनि प्रचिलत कानुनबमोजिम कारबाही हुने उनले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७