बझाङ । बझाङको बुङ्गल नगरपालिका-५ मिडीमा गएको पहिरोमा परी बेपत्ता भाएका दुबै बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन ताम्राकार र ६ वर्षका सुदीप ओखेडा रहेका छन् ।
उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको पहलमा पहिरोले पुरिएको अवस्थामा निकालिएको हो । ठूला ढुङ्गा पहिरोसँगै आएकोले उद्धारमा समस्या भएको थियो ।
बुधबार बिहान करिब १ बजे तिर घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ । प्रताप भने रोजगारीको सिलसिलामा भारतको बैंग्लोरमा छन् ।
पहिरोमा परेर उनकी ४० वर्षीया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल ताम्राकार घाइते भएका छन् । घाइते ४ जनाकै खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ।
घटना लगत्तै नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ४ जनाको सकुशल उद्धार गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७