काटमाडाैं । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएकामध्ये थप २ जनाको शव भेटिएकाे छ ।
प्रहरीका अनुसार उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको हो भने बेपत्ता भएका अन्य १७ जनाकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले भने उद्धारकाे कार्य भइरहेकाले कति जना बेपत्ता छन् भन्ने यकिन भइनसकेकाे जनाएकाे छ ।
बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै आएको खोलाले बगाउँदा रामारोशन गाउँपालिका-५ सैनी बजारका करिब २२ घर बगाएकाे बताइएकाे छ ।
जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीयको टोलीले उद्धार जारी राखेकाे रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउदले बताए ।
यसैबीच, अछामको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकाेप्टर परिचालन गरिएकाे छ ।
सुर्खेतबाट केहीबेरअघि उडेको हेलिकाेप्टर आवश्यक जनशक्ति र सामग्री लिन सदरमुकाम मंगलसेन पुगेको बताइएकाे छ । मंगलसेनबाट आवश्यक उद्धारको सामान लिएर घटनास्थल जाने बताइएकाे छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७