काठमाडौं । अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिकामा मंगलबार राति भीषण बाढी आएको छ । रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले १६ घर बगाउँदा ४ जनाकाे मृत्यु भएकाे छ भने १९ जना बेपत्ता भएका छन् ।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको बताइएकाे छ ।
घटनास्थलतर्फ प्रहरीकाे टाेली जाँदै गरेकाे बताइएकाे छ । क्षतिकाे विस्तृत विवरण आउन बाँकी छ ।
यता, बाजुराको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा बूढीगंगा नदीमा बाढी आउँदा १ महिला बेपत्ता भएकी छिन् भने २७ वटा घर बगाएकाे खबर प्राप्त भएकाे छ ।
गौमुल गाउँपालिका-१ सिम गाउँका ८ घर , बडिमालिका नगरपालिका-२ का १३ वटा र वडा नम्बर ५ का ६ वटा घर गरी २७ वटा घर बाढीले बगाउँदा २ सय जना अलपत्र परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घटनाबारे विस्तृत विवरण आएन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
यसैगरी लगातारको वर्षासँगै आएकाे पहिराेले बझाङकाे बुङ्गल नगरपालिका वडा नम्बर ५ मिडीमा घर बगाउँदा ४ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन् ।
मंगलबार राति १ बजेतिर पहिरो गएको जिल्ला प्रहरीका कार्यालय बझाङले जनाएको छ । घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ४ जनाको उद्धार गरिएको छ भने २ जना बेपत्ता छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७