वैदिक सनातन हिन्दू संस्कारमा कुशलाई एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पतिकाे रूपमा लिइन्छ । जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ । कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधि पनि बनाइन्छ । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति पनि हो ।
कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावश्या (औंसी) का दिन मनाइने पर्व हो । कुशे औँसीलाई बुबा दिवसको रूपमा पनि मनाइन्छ।
आज औँसी अर्थात चन्द्रबिनाको चूक झै अँध्यारो रात । आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भगवत् गीता, गरुड पुराण, अथर्ववेद र विष्णु पुराणमा समेत वर्णन गरिएको छ । हिन्दू धर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक रहेको पाइन्छ। गीता र वेद नै आविष्कारका जननी पनि हुन् ।
वैज्ञानिक रुपमै सिद्ध यस अद्भूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक पर्वहरूमा र हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वास र विज्ञानतः प्रमाणित सिद्धान्तहरुले स्पष्ट पारिसकेको पाइन्छ।
यस कुशे औँसी पर्वलाई बुबाको विशेष सम्मान गर्ने र बाबुआमा नहुनेले तीर्थमा गई खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तारे आफू पुण्यात्मा बन्ने र पितृको उद्धार हुने जनविश्वास पनि पाइन्छ।
कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ, त्यो धारण नगरी हिन्दू धर्मका कुनै पनि कार्य सम्पादन गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरमा गई कुशे औँसीका दिन कुश पुर्याउँछन् र यजमानहरूले पनि यथाशक्ति सिधा-दक्षिणा सहितको यथायोग्य पुरोहितलाई सम्मान गर्दछन् ।
कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरूद्वारा पूजा गरी शास्त्रोक्त विधिले छेदन गरेर यजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको पाइन्छ।
हिन्दू धर्म अनुसार कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुका प्रतीकका रूपमा लिइन्छ । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्दछन् ।
विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदा दान गर्नेहरूको ठूलो घुइँचो लाग्छ । यस वर्ष भने कोरोना महामारीले सबै कुराहरू ठप्प भएको पाइन्छ।
कुशै औँसीका दिन आफ्ना पृथ्वी समान पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरुलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालयलगायत पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।
'पितृदेवो भव' भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।
आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन पनि हो । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएकाे सूर्य अस्ताउने रीत छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, र कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुबाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ! जे होस् आमा बुबा नै यस जगतका देख्न सकिने भगवान् हुन् ।
हरेक धर्ममा आ-आफ्नै चलन छ । तर चलन जेसुकै भए पनि बुबाप्रतिको आदर, सत्कार र सामीप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुबाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका बाहेक अरु केही पनि हैनौं, हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ । ती सपना र सम्भावनाका प्रदायक, जीवन सृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुबाहरुलाई स्मृति ।
बढ्दो आधुनिकतासँगै बुबा आमाहरुलाई वृद्धाश्रममा राख्ने, समय र स्राेतकाे अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलन बढेर गइरहेको छ । तर बुबालाई हेला गर्ने र चित्त नबुझाउने कर्म जगतलाई पक्कै मान्य छैन । हामी पनि एकदिन बुबा या आमा हुन्छौं । तसर्थ हामीले जे गर्छाैं त्यही नै आफ्ना भावी सन्ततिबाट पछि प्राप्त गर्दछौं । आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पूरा गर्नुपर्ने महत्व र आवश्यक्ता झन बढ्दै गएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७