काठमाडौं । युट्युबमा नेपालको राष्ट्रियता एवं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको गीत सार्वजनिक गरिएकोमा विरोध भएको छ ।
‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतमा देशविरोधी आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छ । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समेत समावेश गरिएको छ ।
अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसमा आपत्ति जनाएका छन्। उक्त गीतमाथि प्रतिबन्ध लगाएर कलाकारमाथि कारबाहीको माग समेत गरिएको छ ।
गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ता र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले माग गरेको छ ।
र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ । राप्रविसका महासचिव जनक फडेराले सामाजिक सद्भावमा खलल पुर्याउने यो गीत प्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै संविधानले समेत अपराध मानेको झण्डा जलाइएको यस गीतलाई बन्देज लगाई अपराधमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
साथै महासचिव फडेराले दोषीलाई कारबाही नगरे कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।
राप्रपाका नेता एवं सांसद राजेन्द्र लिङदेनले समेत सामाजिकमा प्रतिक्रिया दिदै जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य नहुने बताएका छन् ।
राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्नेलाई कारबाही हुन्छ। कसैले पनि राष्ट्रिय गान, झण्डा तथा निशान छापको अपमान गर्नु हुँदैन।
कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन भन्ने व्यवस्था मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १५१ (१) मा गरिएको छ ।
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७