काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजे सुरू भएर ७ गते राति १२ बजेसम्म रहने जनाएको छ।
कोरोना भाइरसको संक्रमण तथा रोकथाम नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी गराएका छन् ।
निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन भने मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न नपाइने जारी आदेशमा उल्लेख गरिएको छ ।
नजिकिँदै गरेको चाडपर्वका अवसरमा हुने जमघट र कार्यक्रमहरूमा समेत रोक लगाउने निर्णय भएकाे छ । नजिकिँदै गरेको कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन, ऋषि पञ्चमी, तीजलगायत चाडपर्व मनाउन मानिसकको आवत जावत रोक्न पनि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतबार सर्वपक्षीय बैठक बसेको थियो । महानगरमा रहेका राजनीतिक दलका नेतादेखि विज्ञले कोरोना नियन्त्रण गर्न ‘कर्फ्यु’ सम्म लगाउनु पर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७