काठमाडौं । सवारी साधन मर्मत सम्भार गर्ने अटो वर्कसपहरु भदाै १५ गतेसम्मलाई बन्द हुने भएका छन् ।
कोरोना संक्रमण बढ्दै जाँदा अटो वर्कसपहरु पनि असुरक्षित भएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले आजदेखि १५ दिन बन्द गरेको अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले जानकारी दिए ।
संघले सोमबार एक अपिल प्रकाशित गरी एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको काम बन्द गरेको जानकारी दिएको छ ।
अत्यावश्यक सेवाका सवारी साधन मर्मत गर्नुपरेमा वर्कसपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले काम गर्न संघले वर्कसप व्यवसायीलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा आफू र आफ्नो वर्कशपमा काम गर्ने सहयोगी अटो मेकानिक्सहरु लगायत आफ्नो वरिपरीको वातावरण पनि सुरक्षित गराइदिन अनुरोध गरिएको छ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७