काठमाडाैं । काेराेना महामारीका कारण गरिएकाे लकडाउनका कारण देशका प्रायः विकास निर्माण ठप्प भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भने आफूले पुनःनिर्माण गरेकाे विद्यालय भवन सम्पन्न गरी हस्तान्तरणसमेत गरेकाे छ ।
दाेलखा जिल्लाकाे बिगु गाउँपालिका २ मैसिङस्थित गाैरीशंकर माध्यमिक विद्यालयको भवन शनिबार हस्तान्तरण गरिएकाे हाे ।
बाग्मती प्रदेशसभा सदस्य पशुपति चाैंलागाईंले सम्पूर्ण पूर्वाधारसहितकाे भवन उद्घाटनसमेत गरी हस्तान्तरण गरेका हुन् । विद्यालय भवन हस्तान्तरण गर्न सांसद चाैलागाईं सिंगटीदेखि पैदलै मैसिङ पुगेका थिए ।
उक्त विद्यालय प्राधिकरणकाे केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत एसियाली विकास बैंककाे सहयाेगमा सञ्चालित डिजास्टर रेजिलिएन्स अफ स्कुल्स प्राेजेक्ट (डिआरएसपी) आयोजनाअन्तर्गत पुनःनिर्माण गरिएकाे हाे ।

शर्मा-स्वच्छन्द-खानी जेभीले ठेक्का पाएकाे उक्त आयाेजनामा उमर मुन्सी एसाेसिएट्स, ईआरएमसी प्रालि, पेस कन्सलटेन्ट र पिआरसिएस-भुटानले परामर्शदाताकाे रूपमा काम गरेका थिए ।
५ करोड ७२ लाख रुपैयाँकाे लागतमा बनेकाे ३ तल्ले विद्यालयमा २२ कोठा छन् भने भवनभित्रै महिला पुरुष र अपांगमैत्री शाैचालयसमेत रहेको भवन निर्माणकाे परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर राजु सिवाकाेटीले जानकारी दिए ।
सिवाकाेटीका अनुसार विद्यालयमा शुद्ध पिउने पानी, बगैंचा, बाल कक्षाका लागि इसिडी कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, हरेक कक्षामा फर्निचर, आइसीटी कक्षाका लागि कम्प्युटर ल्याब र त्यसका लागि आवश्यक वैकल्पिक ऊर्जाको समेत व्यवस्था गरिएको छ ।
१८ महिनामा निर्माण गरिसक्नुपर्ने सम्झाैता भए पनि सम्झाैता अवधिभन्दा अगाडि नै निर्माण सकेर हस्तान्तरण गरिएकाे निर्माण कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७