काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा गरेकाे छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरणले साे अंककाे नाफा कमाएकाे देखिएकाे हाे ।
प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको छ । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो ।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड घाटा व्यहोरेको प्राधिकरण आर्थिक वर्ष २०७३/०७४ देखि नाफामा छ । आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले हालसम्मकै उच्च नाफा कमाएको हो ।
गएको ४ वर्षमा प्राधिकरणको बिजुली चुहावटमा पनि उल्लेख्य कमी आएको पाइएकाे छ । २०७३ सालमा २५.७८ प्रतिशत बिजुली चुहावट भएकोमा गत वर्ष १५ प्रतिशत मात्रै चुहावट भएकाे छ।
यसैगरी गत आवमा मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युतको अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । गत अवमा प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ ।
प्राधिकरणले आगामी वर्षमा चुहावट घटाउने–खपत बढाउने, उत्पादन बढाउने–महसुल घटाउने, आयात घटाउने–निर्यात बढाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७