काेराेना महामारीका कारण न्युजिल्यान्डको निर्वाचन १ महिनाका लागि सारिएकाे छ ।
प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको संक्रमण बढिरहेकाले निर्वाचन स्थगित भएको बताएकी छिन् ।
पछिल्लो समय अकल्यान्डलगायतका क्षेत्रमा पुनः कोरोना भाइरसका संक्रमित देखिएको भन्दै अर्डनले १७ अक्टोबरसम्मका लागि निर्वाचन स्थगित गर्ने घोषणा गरेकी हुन् ।
प्रधानमन्त्री अर्डनले मुलुकमा अझै धेरै संक्रमितहरु फेला पर्न सक्ने भन्दै सतर्क रहन सबैलाई आग्रह गरेकी छिन् । साथै उनले अब पुनः निर्वाचनको तालिका परिवर्तन गर्ने आफ्नो मनसाय नरहेको पनि स्पष्ट पारेकी छिन् ।
अहिलेसम्म न्युजिल्यान्डमा कोरोना भाइरसका एक हजार ६३१ संक्रमित फेला परिसकेका छन् भने २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७