चितवन । नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट हिजो केटो बगेको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २-३ वर्षको केटो खोजीका लागि सम्बन्धित पोस्टबाट परिचालन गरिएको भए पनि उद्धार गर्न नसकिएको हो ।
उनले भने, 'कतै उत्रियो वा बगेर गयो, थाहा हुन सकेन ।' यसअघि २०७४ मा आएको बाढीसँगै बढेको राप्ती र नारायणीले बगाएर धेरै गैँडा भारत पुगेका थिए ।
भारत र नेपाली सीमाबाट १३ वटा गैँडा उद्धार गरी निकुञ्ज ल्याइएको थियो। अरु थप गैँडा भारतीय भूमिमा भएको अनुमान छ । यस वर्ष पनि गत साता राप्ती नदीमा डुबेको अवस्थामा गैँडा मृत भेटिएको थियो ।
बरालले अर्को गैँडाले हानेर गम्भीर अवस्थामा नदी तर्ने क्रममा भासिएर मरेको अनुमान गरिएको बताए । निकुञ्ज हुँदै ठूला २ राप्ती र नारायणी नदी बग्ने गर्दछन् । हरेक वर्षको वर्षायाममा ती नदी बढेर वन्यजन्तु बगाउने गर्दछ ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७