काठमाडौँ । नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको अभियोगमा दोषी ठहर गर्दै सहायक रथी प्रयोग राणा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको छ ।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।
सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएपछि उनीहरुलाई कारबाहीसहित सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैगरी समरी जनरल सैनिक अदालतले सहसेनानि लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई १ तह दर्जा घटुवा गरेकाे छ भने प्राविधिक सहसेनानि फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाइ दिने फैसला गरेको छ ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सहायक रथी राणाबाट १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ र महासेनानी सिलवालबाट १५ लाख ७९ हजार ४ सय ८० रुपैयाँ असुल हुने छ।
राणा भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने छन् भने सिलवाल र विश्वकर्मा भने सरकारी सेवामा अयोग्य हुने छैनन् ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७