काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले ५० प्रतिशतभन्दा बढी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएकी छिन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) को ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले ५० प्रतिशतभन्दा बढी उत्पादनशील क्षेत्रमा लगानी गर्न सहकारीलाई निर्देशन दिएकी हुन्।
सहकारी ब्यवसायिकतामा जान र रोजगार सिर्जना गर्न नसकिरहेको अवस्थामा मन्त्री अर्यालले उत्पादनमा लगानी गर्न बाध्यकारी व्यवस्था गरिने बताइन्।
संस्थागत सवलीकरणमा विशेष जोड दिँदै उनले सहकारीले आफ्ना सदस्यको हित पहिलो शर्त बनाउनुपर्ने बताइन्। विपन्न वर्गलाई सहकारीमा आवद्ध गराइ स्वरोजगारका अवसर दिनुपर्ने उनको भनाइ छ। सदस्यको जिविकोपार्जनका आधार तयार गर्नुपर्ने भन्दै उनले सहकारितामा व्यवसायिकता अपनाउनका निम्ति अनिवार्य व्यवस्था गर्न लागिएको बताइन्।
‘सहकारीमा सबैभन्दा कम ब्याज हुनुपर्ने भए पनि सबैभन्दा बढी भएको गुनासो आएको भन्दै छिट्टै सम्बोधन हुने बताइन्। उनले भनिन्,‘सहकारीमा सबैभन्दा कम ब्याज हुनुपर्ने हो। तर सबैभन्दा बढी ब्याज छ। जसले गर्दा गरिब र सीमान्तकृत, आधारभूत समुदायले कर्जा लिएर आफ्नो जीवनस्तर उकास्न सहज देखिंदैन।’
सहकारी प्रविधिको प्रयोग र दक्ष जनशक्तिको आकर्षण सोचेअनुरुप पर्याप्त हुन नसकेको भन्दै मन्त्री अर्यालले सहकारी झोलामा हिंड्न, बाकसमा राखेर चल्न रुचाउने प्रवृत्तिलाई निरुत्साहित गरिने बताइन्। अबको सहकारी क्षेत्र अनुदान वितरणबाट नभएर उत्पादन र रोजगारीमार्फत स्थापित हुने दिशातर्फ लाग्नुपर्ने उनको भनाइ थियो।
सहकारीको मूल उद्देश्य भनेको नाफा कमाउनु नभएर सदस्यको आर्थिक तथा सामाजिक स्तर उकास्नु रहेको भन्दै मन्त्री अर्यालले मुलुकको अर्थतन्त्र निर्माणमा सहकारीको योगदान बढाउन सहकारी अभियान थप क्रियाशील हुनुपर्ने बताइन्। अबको सहकारी प्रविधि, प्रणाली र पद्धतिमा आधारित हुने बताइन्।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७