हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ ।
पूर्व-पश्चिम राजमार्गको मनहरिसम्म र हेटौंडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोरोना संक्रमण फैलिएको र संक्रमण नियन्त्रण गर्न पुनः भोलिदेखि ९ भदौ राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।
यसअघि २६ साउन राति १२ बजेदेखि आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो। तर संक्रमितको संख्या बढ्दै गएकोले पुनः निषेधाज्ञा जारी गर्न बाध्यता भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रजिअ दीपकराज नेपालले बताए।
निषेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि ९ बजेसम्म सर्वसाधारणलाई आवश्यक खाद्यान्न, इन्धन, औषधिलगायतका वस्तु खरिद गर्न समय निर्धारण गरिएको र सर्वसाधारणले दैनिक प्रयोग गर्दै आएको सार्वजनिक यातायात, निजी यातायात, र मोरटसाइकललाई निषेधाज्ञा जारी भएअनुसार सञ्चालनमा रोक लगाइएको प्रजिअ नेपालले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७