काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण दर बढ्दै गएपछि उदयपुर जिल्लाकाे कटारी नगरपालिकाले आइतबारबाट अनिश्चितकालीन लकडाउन घाेषणा गरेकाे छ ।
आइतबार बिहान बसेको नगर कार्यपालिकाकाे बैठकले कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिएको भन्दै लकडाउन गर्ने निर्णय गरेको हो ।
नगर क्षेत्रमा स्वास्थ्य सेवा र औषधि पसलबाहेक अरू व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । निजी सवारी साधन प्रयोग र हिँडडुलमा समेत रोक लगाइएको बताइएकाे छ ।
यसैगरी ३ नम्बर प्रदेशकाे सिन्धुपाल्चाेक जिल्लामा पनि भदाै १ गतेदेखि लकडाउन गर्ने निर्णय भएकाे छ ।
छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र सिन्धुपाल्चोकमा पनि बढ्न सक्ने देखिएकाले भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय गरिएको हाे ।
शनिबार बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले १ सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।
होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन। त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७