काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार हालसम्म ४ पुरुष,२ महिला र ५ बालकको शव भेटिएको हाे ।
शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा ३८ जना पुरिएका थिए । ३८ जनामध्ये ११ जनाको शव फेला परेको हाे । पहिरोमा परी बेपत्ता भएका अन्य २७ जनाको उद्धार जारी रहेको प्रहरीले जनाएकाे छ ।
त्यस्तै, पहिरोमा परी घाइते भएका ५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ४ जनाको चौतारामा र गम्भीर घाइते भएका १ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
यसैबीच गृहमन्त्री रामबहादुर थापाले हिरोग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । पीडित परिवारका लागि प्रारम्भिक राहत लिएर गएका उनले ४० वटा त्रिपाल, ४० वटा टेन्ट र म्याट्रेस हस्तान्तरण गरेका छन् ।
पहिरो प्रभावित क्षेत्रका स्थानीयले गृहमन्त्री समक्ष बस्ती सारेर आफूहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन माग गरेका थिए। जवाफमा गृहमन्त्री थापाले चाँडै नै उपयुक्त ठाउँमा बस्ती सार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन् ।
त्यस्तै जिल्ला विपद व्यवस्थापन समितिबाट भने हाल ३७ घरका लागि प्रतिघर १५ हजार रुपैयाँ सहयोग गरिएको तामाङले बताइन् ।
पहिरो निरिक्षणका लागि शुक्रवार बिहान सभामुख अग्निप्रसाद सापकोटा पनि लिदी पुगेका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७