काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएको र न्यायाधीशकाे सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूमा पनि कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि सेवामा कटौती गरेको छ ।
सर्वाेच्चले भदौ १५ गतेसम्मका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, विषयवस्तुको संवेदनशीलता र तत्काल सुनुवाइ गर्नुपर्ने प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाइ, मुद्दा फिर्ता, मिलापत्रसम्बन्धी विषयको कामकारबाही मात्र हुने जनाएकाे छ ।
'काठमाडौं उपत्यकामा समेत संक्रमण बढ्दै गएको र परीक्षणबाट यस अदालतका कर्मचारी, माननीय न्यायाधीशका निजी सुरक्षाकर्मी समेतमा संक्रमण देखिई माननीय न्यायाधीशहरू नै होम क्वारेन्टाइनमा रहनु परेको अवस्था छ,'शुक्रबार सूचना जारी गर्दै सर्वाेच्चले भनेकाे छ, 'यस परिस्थितिमा सेवाप्रवाहमा संकुचन ल्याउन आवश्यक रहेको विषयमा नेपाल बार एसाेसिएसन तथा सर्वोच्च अदालत बार एसाेसिएसनबाट समेत अनुरोध भई आएको छ ।'
त्यस्तै साउन ८ गतेको सूचना बमोजिम काठमाडौं उपत्यकाभित्र सेवाग्राहीलाई हदम्याद, म्याद र तारिखमा यस अदालतमा उपस्थित हुनुपर्ने अवस्थाको हकमा भने सोही बमोजिम हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको जनाएकाे छ ।
हेर्नुहाेस् सूचनाः
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७