काठमाडाैं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन् ।
पहिरोले ३७ घर पुरिएकाे र ९ जना घाइतेको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिराे गएकाे क्षेत्रमा पुगेका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिराेमा परी ३८ जना बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएकाे छ ।
उनका अनुसार पहिरोमा पुरिएका १ जनाको भने शव भेटिएको छ । पहिरोबाट आफैँ बाहिर निस्केका १५ जना भने सुरक्षित स्थानमा रहेका छन् ।
पहिराेमा परी गम्भीर घाइते भएकाहरूलाई हेलेकाेप्टरमार्फत उद्धार गरी काठमाडाैं पठाइएकाे छ भने सामान्य घाइते भएकाहरूकाे भने सिन्धुपाल्चोकमै उपचार भइरहेको छ ।
तस्बिरहरू : श्रीधर न्याैपाने
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७