काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएकाे भीषण पहिराेमा परी १३ घर पुरिएका छन् भने ५ घरका सदस्य सबै बेपत्ता छन् ।
शुक्रबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङका अनुसार पहिराेमा परेका ५ परिवारसँग सम्पर्क हुन सकेको छैन ।
सो क्षेत्रका अन्य २५–३० घर जोखिममा रहेकाे बताइएकाे छ । पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धारमा समस्या भइरहेकाे बताइएकाे छ ।
यसैबीच, पहिरोमा घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बाँकीको उद्धारका लागि टोली जाँदै गरेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार पहिरोमा बेपत्ता भएकाहरूको जीवितै उद्धार हुने सम्भावना शुन्यप्रायः छ । उद्धारमा समस्या भइरहेकाे र थप टाेली घटनास्थल जाँदै गरेकाले क्षतिको उकिन विवरण आउन सकेको छैन ।
यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७